विकास र सुशासनका लागि पत्रकारिताः विकासमा मिडियाको भूमिका अपरिहार्य

बुटवल । समग्र राष्ट्रको विकास र स्थानीय तहमा सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै बुटवलमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुटवललाई आर्थिक, शैक्षिक र भौतिक विकासको केन्द्रको रुपमा अगाडि बढाउन स्थानीय सरकार, निजी क्षेत्र र मिडियाबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेको वक्ताहरुले जोड दिए ।

मनसुन मिडिया प्रालिको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोगमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकास कुनै एक पक्षको मात्र दायित्व नभएको बताउँदै विकास निर्माण र हरेक सार्वजनिक काममा मिडियाको खबरदारी महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सत्यतथ्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले अगाडि थपे, बुटवललाई गुलजार बनाउन निजी क्षेत्र अगाडि बढ्नुपर्छ र त्यसको सही सूचना प्रवाहमा मिडियाको साथ चाहिन्छ । भौतिक विकाससँगै समयको मागअनुसार सञ्चार क्षेत्रको पनि विकास गर्नुपर्छ । मिडिया हाउस र पत्रकारहरुको दिगोपनाका लागि उपमहानगरपालिकाले यसअघि सञ्चारग्राम निर्माण लगायतका पहलकदमी समेत चालेको बताएका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले पत्रकारिताले योजनाको आवश्यकता, गुणस्तर र पारदर्शिताका विषयमा गहिरो अध्ययन गरेर कलम चलाउनुपर्ने सुझाव दिए । त्यस्तै, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवललाई औद्योगिक केन्द्र बनाउन र रुग्ण उद्योगहरुको संरक्षणका लागि मिडियाले नीति निर्माताहरुलाई झक्झक्याउनुपर्ने धारणा राखे । उद्योगी व्यवसायीका जायज समस्यालाई मिडियाले स्थान दिनुपर्ने र लगानीमैंत्री वातावरण बनाउन सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण भएपनि श्रमजीवी पत्रकारको आर्थिक स्थायित्व र मिडियाको दिगोपन बिना गुणस्तरीय र खोजमूलक समाचारमा केही समस्या रहने जनाएका थिए ।

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले बुटवल जस्ता मोफसलका केन्द्रहरुमा सञ्चार माध्यमहरुले केवल राजनीतिक विषयलाई मात्र प्राथमिकता नदिई शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण संरक्षण र मानव विकासका सूचकहरुलाई समाचारको केन्द्रबिन्दु बनाउनुपर्ने औंल्याए । अन्तक्र्रिया राज्यका तीनै तहका सरकार, निजी क्षेत्र र आमसञ्चार माध्यमबीच हातेमालो भएमात्र दिगो विकास सम्भव हुने निष्कर्ष निकालिएको थियो