महावीरबाहेक सिंगै मन्त्रिपरिषद रास्वपा महाधिवेशन चितवनमा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण बालेन्द्र शाह नेतृत्वको सिंगै मन्त्रिपरिषदले राजधानी छोडेको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनबाहेक मन्त्रीपरिषदका सबै सदस्यहरु महाधिवेशनमा भाग लिने सिलसिलामा चितवनमा छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रीपरिषदका १७ जना चितवन गएका हुन् । काठमाडौंबाट हिजो गएका उनीहरु चितवनका विभिन्न होटलमा छरिएर बसेका थिए । महाधिवेशनको चुनावी प्रक्रिया सुरु नभएका कारण सबैजना आज पनि चितवनमै रहनेछन् । यद्यपि, अहिलेसम्म महाधिवेशन स्थलमा शिक्षामन्त्री सस्मित पोखरेलबाहेक अरु मन्त्रीहरु देखा परेका छैनन् ।

प्रधानमन्त्री बालेन्द्र शाह हिजो चितवनको कालिका नगरपालिका ९ स्थित होटल लटौली सेन्चुरीमा बास बसे । त्यही होटलमा रास्वपा सभापति रवि लामिछाने पनि बसेका छन् । गृहमन्त्री सुदन गुरुङले भरतपुर ४ स्थित शिवघाट रेन फरेस्टलाई आफ्नो मुकाम बनाए । यस्तै, उर्जामन्त्री विराजभक्त श्रेष्ठ भरतपुर ३ स्थित सिद्धार्थ होटलमा, अर्थमन्त्री स्वर्णिम वाग्ले चितवन खैरहनी १३ स्थित होटल बनवासामा र परराष्ट्रमन्त्री शिशिर खनाल भरतपुर १० स्थित होटल सेराईचुलीमा बास गरेका छन् ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना रत्ननगर ६ स्थित होटल पार्क ल्यान्डमा, महिला तथा बालबालिकामन्त्री सीता वादी रत्ननगर ७ स्थित वाइड लाइफ क्यापमा र संस्कृतिमन्त्री खडकराज पौडेल रत्ननगर ६ स्थित सपना भिलेज रिसोर्टमा बसेका छन् । शिक्षामन्त्री सस्मित पोखरेलको वास भरतपुर १० स्थित सिराइचुली होटलमा छ भने श्रम मन्त्री रामजी यादवलाई रत्ननगर ६ स्थित जंगल क्राउन होटलमा व्यवस्थापन गरिएको छ । कानूनमन्त्री सोविता गौतम भने भरतपुर १५ अवस्थित आफ्नै निवासमा बसेकी छन् ।

भूमि व्यवस्थापन तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको रात्रिवास चितवनको रत्ननगर ६ स्थित होटल वाइल्ड लाइफमा भयो । स्वास्थ्यमन्त्री निशा मेहता भरतपुर १० स्थित नारायणी ल्यान्डमार्कमा, उद्योगमन्त्री गौरीकुमारी यादव भरतपुर १० को भरतपुर गार्डेन रिसोर्टमा र कृषी तथा वनमन्त्री गीता चौधरी चितवनको रत्ननगर ६ स्थित भिलेज रिसोर्टमा बसेका छन् ।