बुटवलमा सम्पन्न मिडिया सम्मेलनद्दारा आठ बुंदे बुटवल घोषणापत्र जारी

बुटवल, असार ७ गते । बुटवल घोषणापत्र जारी गर्दै बुटवलमा जारी चौथो राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न भएको छ । यही असार ६ गते शुरु भएको मिडिया सम्मेलन आज ७ गते आइतबार सम्पन्न भएको हो ।

सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार, मिडिया उद्योगको दिगोपन, पारदर्शिता र आर्थिक सबलीकरणमा गर्नुपर्ने आठ बुँदे बुटवल घोषणापत्रमा उल्लेख गरिएको छ । सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीति खारेज गरेर समानुपातिक र वैज्ञानिक विज्ञापन वितरण प्रणाली कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी र नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा देशभरका प्रकाशक, सम्पादक, सञ्चारकर्मी तथा सरोकारवालाहरूको प्रतिनिधिमूलक सहभागिता थियो ।

दुई दिनसम्म चलेको सम्मेलनले सरकारको वर्तमान विज्ञापन नीतिका कारण नीजि सञ्चारमाध्यम अस्तित्वकै संकटमा पुगेको मिडिया सम्मेलनले निष्कर्ष निकालेकोछ ।

आठ बुंदे घोषणापत्र सार्वजनिक गर्दै नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले गलत तथा अव्यबहारिक विज्ञापन नीति खारेज गर्न मिडिया सम्मेलनले माग गरेको बताए ।

नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन नीतिविरुद्ध सञ्चालन गरिरहेको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउने घोषणापत्रमा उल्लेख छ । चौथो राष्ट्रिय मिडिया सम्मेलनले माग गरेको छ, सरकारी विज्ञापन वितरणमा देखिएको अनियमितताको छानबिन गर्नुपर्छ र त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ ।

सबै सञ्चारगृहलाई व्यावसायिक रूपमा सक्षम बनाउन ‘साझा विज्ञापन बिक्री संयन्त्र’ स्थापना गर्नुपर्ने मिडिया सम्मेलनको माग छ ।
मिडिया उद्योगमा देखिएको आर्थिक संकट समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई मिडिया सबलीकरणसम्बन्धी ठोस कार्यक्रम सञ्चालन गर्न सम्मेलनले आह्वान गरेको छ।

 

नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले जारी गरेको बुटवल घोषणापत्रमा सरकारी विभेदकारी विज्ञापन नीतिविरुद्ध एकताबद्द भएर आवाज उठाउनु पर्ने बताए ।

अध्यक्ष नवराज कुँवरले सञ्चारमाध्यमलाई आर्थिक रुपले बलिया र दीगो बनाउने गरी मिडियासंग सम्बन्धित सरोकारवाला निकाय एक ठाउं भएर देशभर साझा अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।