बन्द सत्र चलेको अढाई घण्टापछि बालेन पुगे


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्द शुरु अढाई घण्टापछि मात्र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेन महाधिवेशन स्थलमा पुगेका छन् । सोमबार बिहान साढे ८ बजेबाट शुरु गर्ने भनिएको बन्द सत्र मंगलबार दिउँसो साढे ३ बजेदेखिमात्र शुरु भएको हो ।

सोमबार पनि बन्द सत्र नभएपछि उनी परिवारसँग घुम्न निस्किएका थिए । सो क्रममा उनले विभिन्न स्थलको निरीक्षणसमेत गरेका थिए । मंगलबार साँझ भने उनी आफैँले गाडी हुइँकाएर महाधिवेशन स्थल पुगेका थिए । महाधिवेशनको बन्द सत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्द सत्र शुरु भएको हो ।
लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए । सभापति लामिछानेले भने, हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।

महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै उनले भने, ५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ । प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उनको भनाइ थियो । प्रतिनिधिहरुले तिरेको पाँच हजार ऐच्छिक बनाइएको भन्दै उनले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताए । उनले भने तपाईंले तिरेको पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुने छ । यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।
महाधिवेशन निर्वाचनको सन्दर्भमा उनले जसले जिते पनि घण्टीबाहकले जित्ने विश्वास व्यक्त गरे । उनले भने, निर्वाचनमा जसले जिते पनि घण्टीबाहेक जित्छ । म कसैको पक्षमा छैन । सभापति लामिछानेले थप भने, तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो । यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।























