आज लागूऔषध अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस


काठमाडौं । आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ।

राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। लागूऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि अन्तराष्ट्रिय सहकार्य, साझा प्रतिबद्धता र प्रभावकारी प्रयासलाई थप सुदृढ बनाउने लक्ष्यका साथ यो दिवस मनाइँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । साथै, कम लागतमा उत्पादन गर्न सकिने र पत्ता लगाउन कठिन हुने कृत्रिम लागूऔषधको अवैध कारोबार पनि तीव्र रुपमा विस्तार भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

लागूऔषध नियन्त्रणका लागि कानुनी कार्यान्वयनसँगै जनचेतना, रोकथाम, उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक रहेको सरोकारवालाहरुले औँल्याएका छन् ।























