अर्घाखांचीमा चुनढुंगा उत्खनन् बन्द गर्न माग

बसन्त खड्का

अर्खाखांची, असार ११ गते । अर्घाखांचीमा चुनढूगा उत्खनन्को खानी सधैका लागि बन्द गर्न माग गरिएको छ । अर्घाखांची सन्धिखर्क नगरपालिका–७ खांचीकोटको तीनपाने लेकमा भूगर्भ सिमेन्ट प्रालिद्वारा सञ्चालित चुनढुंगा उत्खनन् कार्य सधैैका लागि बन्द गर्न माग गरिएको हो ।

पर्यावरण संरक्षण तथा पर्यटन प्रवद्र्वन समिति अर्घाखांची खांचीकोटले चुनढुंगा उत्खनन् बन्दको माग गर्दै प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सरोकारवालालाई निकायमा ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक प्रीतमबहादुर थापाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र जिल्लास्थित प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, पत्रकार महासंघ अर्घाखांचीसमेतलाइ बोधार्थ पठाएको समितिका उपसंयोजक वसन्त खड्काले बताए ।

तीनपानेमा सञ्चालित चुनढंगा उत्खनन् कार्यले गर्दा पानीका मुहान सुकेको, उत्खनन् क्षेत्रसंगै आसपासका क्षेत्रको पर्यावरण बिग्रिएको, नजिकैका स्कुलमा गएको ध्वनि प्रदूषणले पठन– पाठनमा असर परेकाले खानी उत्खनन् पूर्ण रूपमा बन्द गर्दै उक्त क्षेत्रको पर्यावरण संरक्षण गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खानी सञ्चालन मन्त्रिपरिषद्ले पास गरेर गरिने केन्द्रीय कार्य भएकाले आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्ने बताए ।
खांचीकोटमा सक्रिय एमालेबाहेकका अन्य राजनीतिक दलहरूको सहभागितामा पर्यावरण संरक्षण तथा पर्यटन प्रवद्र्वन समितिले ज्ञापनि पत्र बुझाएको हो ।
ज्ञापनपत्र अनुसार माग सम्बोधन नभए छिट्टै संघर्षका कार्यक्रम सुरु गर्ने समितिका उपसंयोजक बसन्त खड्काले बताए । चुनढुंगा बन्द गर्नका लागि खानी आसपासका स्थानीयले माग गर्दै आएका छन् ।