मनाईयो भानुजयन्ती

बुटवल, असार २९ गते । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जयन्ती बनाईएको छ । विभिन्न ठाउंमा साहित्यिक कार्यक्रमको आयोजना गरी शनिबार भानुभक्तको जन्मजयन्ती मनाईएको हो ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो ।

विसं १८७१ असार २९ गते तनहुंको चुँदीरम्घा भन्ने गाउंमा जन्मिएका भानुभक्तलाई एक सामान्य घांसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी अर्ती उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । भानुभक्तको वधुशिक्षा उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी प्रश्नोत्तर भक्तमाला, रामगीता फुटकर रचनालगायत थुप्रै कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भोलिवादका कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।