प्रगतिनगर खानेपानी संस्था बिधान विपरित सञ्चालन


बुटवल, साउन ४ गते । बुटवल–११ प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था बिधान विपरित सञ्चालन भैरहेको खुलसा भएको छ । लामो समयदेखि बिद्यान विपरित सञ्चालन भैरहेको संस्थाको साधारण सभा तथा अभिवेशन भएको छैन ।

प्रत्यक्ष निर्वाचित व्यक्ति नेतृत्वमा आउनुपर्ने माग गर्दै उपभोक्ताले शुक्रबार ज्ञापनपत्र बुझाएका छन् । बिसी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर कुंवरको संयोजकत्वमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा उपभोक्ताले खानेपानी संस्थाका सहसचिव टिकाराम सुनारलाई ज्ञापन पत्र बुझाएका हुन् । बिधान अनुसार प्रत्येक वर्ष साधारण सभा गरी संस्थाको आयव्यय सार्वजनिक गर्नुपर्ने र २÷२ वर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ । 
२०६४ सालयता साधारणसभा र अधिवेशन नगरी संस्था बिधान विपरित चलिरहेको उपभोक्ताको दावी छ । संस्थाका अध्यक्ष जीतवहादुर मल्ललाई पटक पटक साधारण सभा तथा अधिवेशन गर्न अनुरोध गर्दापनि बेवास्ता गरेपछि ३५ दिनभित्र साधारणसभा तथा अधिवेशन गर्न माग गर्दै गत असार १९ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित बुटवल उपमहानगरपालिका, खानेपानी डिभिजन कार्यालय, बुटवल ११ वडा कार्यालय र खानेपानी संस्थामा ज्ञापनपत्र बुझाइएको टेकबहादुर गुरुङले बताए ।

तत्काल संस्थाको साधारण सभा तथा अधिवेशन गर्न उपभोक्ताले माग गरेका छन् । लामो समयसम्म संस्थाको साधारणसभा तथा अधिवेशन नहुंदा आर्थिक अनियमितता भएको हुनसक्ने उपभोक्ताले आशंका गरेका छन् । नेपालको संविधान २०७२ पछि बनेको स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम पारित भएको बुटवल उपमहानगरपालिका जलस्रोत उपयोग ऐन, २०८० लाईसमेत वेवास्ता गरी मनोमानी गरिएको उपभोक्ता तेजेन्द्र खनाल, शंकर ज्ञवाली, हरि भट्टराई, रेबन्त किश्वकर्मा लगायतका उपभोक्ताको भनाइ छ ।
संस्थाका अध्यक्ष जीतबहादुर मल्लले २०६७ सालदेखि साधारणसभा तथा अधिवेशन हुन नसकेको स्वीकार गर्दै उनले भने तीन पटक साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएपनि कारणबस हुन सकेन ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था २०६२ सालमा स्थापना भएको थियो । संस्थामा २ हजार ६४५ घरधुरी उपभोक्ता आवद्द छन् ।






















