पत्रकार चेतन पन्तको गरियो दाहसंस्कार

बुटवल, साउन २१ गते। रुपन्देही भैरहवाका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पत्रकार पन्त क्यान्सर रोगबाट पीडित थिए । सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कलोनीस्थित आफ्नै निवासमा उनको आइतबार निधन भएका पत्रकार पन्तको आज सोमबार अन्तिम दाहासंस्कार गरिएको छ ।
६६ वर्षको उमेरमा निधन भएका पत्रकार पन्तको सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए । २०४५ सालदेखि पत्रकारितामा आबद्ध पन्तले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियान्ताका रुपमा सक्रिय थिए । पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायत भारतका समेत बुद्ध र बुद्धको जीवनीसँग सम्बन्धित क्षेत्रहरुका वृत्तचित्रहरु नेपाली र अंग्रेजी भाषामा राखिएका छन् ।

पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे खाडी क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लुम्बिनीका बारेमा प्रशिक्षण दिँदै आएका थिए । ‘जहाँ गएपनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने मेरो एउटै उद्देश्य भन्ने नारासहित पत्रकार पन्तले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गर्दा अमेरिकामा त्यसको प्रचा प्रसारमा लागेका थिए ।

पिता नगेन्द्रप्रसाद पन्त र आमा इन्द्रकुमारी पन्तका ५ भाई छोरा र २ छोरीमध्ये उनी जेठा हुन् । पन्तका एक श्रीमती गंगा पन्त र दुई छोराहरु उमंग र उत्सव पन्त छन् ।
लामो समय पत्रकातिामा विताएका स्व. पत्रकार पन्तको पार्थिव शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओडाएर अन्तिम दाहासंस्कार गरिएको थियो । पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले महासंघको झण्डा ओडाए अन्तिम श्रदाञ्जली अर्पण गरिएको थियो । त्यस्तै पत्रकार माधव ढुुुुुुुुुुुुुुुुुुुुुुुुुंगनाले स्व. पत्रकार चेतन पन्तको जीवनीबारे जानकारी गराउंदै श्रदाञ्जली अर्पण गरेका थिए ।