बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिन

 

बुटवल, साउन २१ गते । बंगलादेशको राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको जनाएको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।

प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी सुरक्षित स्थानतर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएर भिडयो सन्देश सार्वजनिक भएन ।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी रहेकोसमेत अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुंदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएका छन् ।

प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसंग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारी विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको बताएको प्रतिक्रिया दिएकी थिइन् । आन्दोलन चर्किएपछि बंगलादेशमा सोमबार यन्टरनेट सेबा बन्द भएको बताईएको छ ।