परम्परा धान्दै हिन्दुहरुले मनाए रक्षा बन्धन

बुटवल, भदौ  ४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाईएको छ । सोमबार पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाधेका छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बांधिए, त्यसैले म तिमीलाई बाध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बांधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म कायमै छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाध्ने वैदिक परम्परा छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बांधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाध्न एवं नयां जनै फेर्ने चलन छ । यस्तै जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन पनि छ ।

क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

पाल्पालगायतका मन्दिरहरुमाभिडभाड

यस्तै रक्षा बन्धन तथा जनै पूर्णिमाको अवशरमा परम्परा संस्कृती लाई जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा सोमबार भिडभाड थियो । हिन्दु धर्मालम्वीहरुको जनै पूर्णिमाको ताकाधारी बाहुन क्षेत्रीहरुको जनै फेर्ने र अन्य समुदायमा रक्षा बन्धन बाध्ने चलन रहेको छ । पाल्पामा ब्रहमणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्रद्धारा मन्त्रिएको जनै परिवर्तन गरी रक्षा कवजको रुपमा हात हातमा रक्षा बन्धन गरेका छन ।

पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनले आत्माको शुद्धिकरण तथा रक्षाको लागि मन्त्रहरु द्धारा शुद्ध बनाईएको धागोबाट हातको नाडीमा रक्षा बन्धन लगाएका छन् । बाह्रमण पण्डितहरु आ–आफनो जजमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने जजमाानले दक्षिणा, तथा फलफूल दिने परम्परा रहेको छ । ज्वाईहरु शसुराल पुगी रक्षा बन्धन गरिदिने र भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा छ ।

यसै गरी तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ । यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ ।

नेपाल पाञ्चाङ निर्याणक विकास समितीले भने सोमबार विहानैदेखि पुजा पाठ तथा रक्षाबन्धन गर्ने मिल्ने र राष्ट्रप्रमुखले मात्र दिउसो १ बजेपछि रक्षाबन्धन गर्ने मिल्ने सूचना सर्वसाधारणमा गरेपछि केही दिनदेखिको अन्यौल हटेको थियो ।