सीमा क्षेत्रबाट चोरी निकासी बढ्दो

बुटवल, भदौ ३ गते । सीमा क्षेत्रबाट अबैध रुपमा चोरी निकासी हुने कुरा नौलो होइन । राज्यले सीमा क्षेत्रमा हुने चोरी निकासी तथा अबैध कारोवार रोक्न पनि गरेको जस्तो देखिन्छ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोकिएको छैन । प्रहरी प्रशासन र तस्कर गर्नेहरुको मिलोमतोमा सीमा क्षेत्रमा चोरी निकासी हुने गरेको स्थानीयले आरोप लगाउंदै आउका छन् । तर चोरी निकासी तथा अबैध कार्य भने झनपछि झन बढ्दै गएको छ ।

स्थानीयका अनुसार पछिल्लो समय नवलपरासीबाट भारतसंग जोडिएका सीमा नाकाबाट चोरी तस्करी बढेको छ । नवलपरासीका विभिन्न नाकाबाट केही समयदेखि चोरी तस्करी बढेको स्थानीयको दावी छ । सीमा नाकाहरुबाट नेपाल र भारत दुवैतर्फ अवैध सामान ओसार पसार कार्य बढेको पाइएको छ । सबैभन्दा बढी भारतबाट नेपालतर्फ खसी बोका, रांगा र चामलको तस्करी बढेको बताइएको छ ।

चाडपर्व नजिएकाले भारतबाट खसी बोका र रांगाको तस्करी बढेको हो । त्यस्तै नेपालबाट भारततर्फ सामान तस्करी हुनेमा विरगञ्जहुंदै तेस्रो मुलुकबाट आएको चाइनिज लसुन, चाइनिज लाइटर, केराउ, कवाड सामग्री, नास्पाती लगायतका छन् । त्यसैगरी भारतबाट नेपालतर्फ सामान तस्करी हुने अन्यमा माछा, मोबाइल चिनी लत्ताकपडा लगायतका छन् ।
सीमा क्षेत्रबाट दुई देशतर्फ ठूलो मात्रामा तस्करी कार्य बढेपनि सीमा क्षेत्रमा रहेका सशस्त्र र नेपाल प्रहरीका युनिटहरुले वास्ता नगरेको गुनासो बढेको छ ।

नवलपरासीको भूजहवा, पाचपेडा, बसैया, गेर्मी, अमानिगञ्ज, रामनगर नाकाबाट त्यस्ता सामानहरुको तस्करी बढेको स्थानीयले बताएका छन् । तस्करी बढेको चौतर्फी आवाज आएपछि केही दिनअघि खसी बोका र मोबाइल बरामद गरिएको थियो । केही दिन अघि नेपालबाट भारततर्फ लैजांदै गरेको एक ट्रक खसी बोका, लसुन र ३३ लाख बराबरको मोबाइल बरामद गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

सामान पक्राउपछि केही दिन तस्करीमा कमी आउने गरेपनि फरी त्यस्ता कारोबार बढदै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी ज्ञानेन्द्र फुयाल र सशस्त्र प्रहरी बल नं. २६ गण नवलपरासीका प्रमुख एसपी प्रकाश वाग्लले चोरी निकासी नियन्त्रणका लागि मातहतका युनिटलाई परिचालन गरिएको उनले बताए ।

नवलपरासीलगायत देशभरका भारतसंग जोडिएका नाकाहरुमा चेकजांचका लागि सधैभर प्रहरीले कडा सुरक्षा दिएकै हुन्छन् । तर पनि अबैध रुपमा चोरी निकासी भैरहेको छ । सामान्य घरचर्ख चलाउनका लागि सवैसाधारण नागरिकले सीमापारी भारतबाट थोरै समान ल्यांदा पनि प्रहरीले पक्राउ गर्ने गरेको छ । तर ठूलो परिणाममा समान अबैध रुपमा चोरी निकासी गर्नेहरु भने कमै मात्रमा पक्राउ पर्ने गरेका छन् ।