भूमिगत कार्यालय सञ्चालन गरी एमाले नेताको ठगी धन्दा


काठमाडौं, भदौ ६ गते । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका प्रत्यासी आङ बाबू राई सहकारीको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा कार्यालय रहने गरी दर्ता गरेको रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारी संस्था बिना स्वीकृति काठमाडौं– १६ मा भूमिगत कार्यालय सञ्चालन गरि ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

सहकारी संस्थाका अध्यक्ष राई प्रहरीले गएको साउन २२ गते पक्राउ गरेको हो। ठगी प्रकरणमा मुछिएका सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ हाल फरार छन्। आर्थिक वर्ष २०७३÷०७४ सम्म रु २२ लाख ४६ हजार १० रुपैयाँ नाफा रहेको सहकारीको सबै रकम तीन जना पदाधिकारीहरूले मिलमतोमा ठगी गरेको प्रहरीको आरोप छ।
काठमाडौं प्रहरी परिसरका अनुसार रकम ठगिपछि उनीहरूले हालसम्म सहकारीको साधारणसभा गरेका छैनन्। नियामक निकाय काठमाडौं महानगरपालिकाले उक्त सहकारी छानबिन गरी १३ वटा कैफियत औल्याउँदै थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो। महानगरीय प्रहरी वृत्त लैनचौरले ठगीमा संलग्नहरूलाई पक्राउ गरि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।

वृत्तले अध्यक्ष राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। तीन जना पदाधिकारीले कार्यसमितिको निर्णयबिना सहकारीको नाममा रकम संकलन गरि आफ्नो ब्यक्तिगत खातामा रकम जम्मा गरेको, सचिवको नाममा सेयर खरिद गरेको र कोषाध्यक्षको नाममा घरजग्गा खरिद गर्ने गरेको पाइएको छ।
सहकारीको कर्जा रकम असुल उपर गरि लिलामबाट आएको जग्गा सहकारीको नाममा नराखी भिमढुंगा ३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल १–११–२–० रोपनी जग्गा अध्यक्ष र सचिवको योजनामा कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरी ठगी गरेको समेत महानगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्यक्ष, सचिव र कोषाध्यक्षले निर्णयबिना आफुखुसी मनोमानी तवरले सहकारीको बचत रकमले तलब बुझी ठगी गरेको, संचालक समितिको निर्णय र साधारणसभाको निर्णयबिना अध्यक्ष, सचिव र कोषाध्यक्षले कर्जा प्रवाहमा १ देखि २ प्रतिशत सेवा शुल्क लिई ब्यक्तिगत तवरले ठगी गरेको, गैरकानुनी रुपमा अध्यक्ष आफैं प्रबन्ध भएर २४ लाख ६७ हजार ४१६ र अध्यक्षको भत्ता १० लाख ३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएर सर्वसाधारणको बचत रकम ठगी गरेको प्रतिबेदनमा पुष्टि गरिएको छ।
एन्जिओ नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनका सदस्यहरु सहकारीको कार्यक्षेत्र सिमित गर्नेगरि स्वीकृत लिएता पनि गैरकानुनी तवरले संस्था तथा सहकारीका संस्थापक पदाधिकारीहरूलाई जानकारी नै नदिएर अन्य सर्वसाधारण नागरिकहरूलाई सदस्य राखी रकम बचत गर्न लगाई ठगी गरेको बिषय थप अनुसन्धान गर्न कार्यदलले सुझाव दिएको छ।
तीन जनाले गैरकानुनी रुपमा २३ प्रतिशत ब्याज लिएर ब्यक्तिगत खातामा जम्मा गरेर ठगी गरेको, कुनै पनि सूचना र जानकारी नदिएर ३७० जना सेयर सदस्य मध्य ४० जना मात्रैको उपस्तिथि देखाएर ६ वर्षको काल्पनिक बनावट साधारणसभा गरि नक्कली लेखापरीक्षण बनाएर महानगरपालिकामा पेश गरि ठगी गर्न लागेकोमा महानगरले अवैधानिक भएको घोषण गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
महानगरले ३७० जना सदस्य रहेकोमा ४० जनामात्रै उपस्तिथि देखाएर गरिएको साधारणसभा कानुनबमोजिम नहुने तथा ६ वर्षको लेखापरीक्षण एकै दिन बनाएर ठगी गरेको औल्याउँदै थप अनुसन्धानका लागि प्रहरी समक्ष प्रतिवेदन पठाएको हो।
सहकारीले संकलन गरेको रकम सहकारीको नाममा रहेको सिटिजन बैंकको खातामा जम्मा नगरी अध्यक्षको निजि खातामा जम्मा गरि सिमित ब्यक्तिले दुरुपयोग गरेको तथा कर्जाबाट उठाएको सावाँ र ब्याजको रकम समेत निजि खातामा लिएर ठगी गरेको पाइएको छ।























