बुटवलमा अव्यवस्थित पार्किङः उच्च दुर्घटना, व्यवसायी मारमा


बुटवल । व्यापारिक केन्द्रको रुपमा चिनिदै आएको बुटवलमा व्यवस्थित पार्किङ्ग नहुँदा उच्च दुर्घटनाको सम्भावना बढेको छ भने गल्लामण्डी अमर पथ लाईनका व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् । मंगलवार रक्तसञ्चार केन्द्र नजिक मोटरसाईकल र कार पार्किङ्ग बिच बाटोसम्म गरेको भेटिएको थियो । सुस्ताउँदै गएको बुटवल बजारमा अव्यवस्थित सवारी पार्किङ्ले गर्दा अस्तव्यवस्त बन्न पुगेको छ ।

‘एक सिरक डसना पसलका व्यवसायीले भने, व्यापार छैन्, यसैमा पार्किङ्गले गर्दा आउने ग्राहकहरु समेत आउँदैनन् । हिँडडुल गर्ने बाटो समेत नहुने भएकाले ग्राहक नआउने भएकाले घरवहाल तिर्न समेत गाह्रो पर्ने गरेको बताए ।, “नाम नखुलाउने सर्तमा उनले भने उपमहानगरको नगर प्रहरी टोली सडकपेटीमा व्यापार गर्नेहरुको मात्रै पछाडि दौडिएको हुन्छ, यहाँको पार्किङ्ग हटाउन आउँदैन् । नगरको नीति नै व्यवसायीमैंत्री देखिएन ।”
तर यसअघि बुटवलमा पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता गरिएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न पार्किङ भवन निर्माणका लागि ३० करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने अपेक्षा थियो ।

पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने अव्यवस्थित पार्किङ हट्ने उपमहानगरको विश्वास थियो । बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्ने र बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने गरी सम्झौता गरिएपनि हालसम्म शुरुवात गरिएको छैन् ।
२०७९ असोज १५ गते पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भई प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको थियो । ७ तले पार्किङ भवनमा एकसाथ करिब २ सय साना सवारी पार्किङ गर्न सकिने र सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेशिनले खाली भएको ठाउँमा गाडी लगेर राख्ने, गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउने अत्याधुनिक प्रविधिमैंत्री बनाउने लक्ष्यले मुर्तरुप पाउन सकेको छैन् ।






















