मुस्ताङको थासाङमा फेरी हिउँपहिरो

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका २ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्णरुपमा थुनिएको बताए ।

“यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।” बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी(जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।

यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका २ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेको बताइएको छ ।