प्रहरीको खाता चेकजांच हुन्छ – प्रहरी महानिरीक्षक

भैरहवा, भदौ २१ गते । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुंवरले जनताको मन जित्ने गरी काम गर्न प्रहरी युनिटहरुलाई निर्देशन गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने प्रहरीको दायित्व भएकाले सोही अनुसार काम गर्न निर्देशन गरे ।

उनले सबै प्रहरी जवानदेखि नेतृत्वको खाता चेकजांच गरिने बताउंदै गलत काम गर्न कसैलाई छुट नभएको बताउंदै उनले भने – एक जना डिआइजी जांदै हुनुहुन्छ । सबैले आआफ्नो स्थानबाट राम्रो काम गर्नुस । प्रहरीको आन्तरिक संगठन सुदृढिकरणलाई प्राथमिकता राखिएको बताउंदै संगठनको आन्तरिक सुदृढिकरण बिना नागरिकको भरोसा जित्न सम्भव नभएको बताए ।

बुधबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै मुलुकभरका प्रहरी युनिटका सूचना महानिरीक्षकसम्म पुग्ने व्यवस्था गरिएको भन्दै कर्तव्यनिष्ठ भएकार काम गर्न प्रहरी कर्मचारी निर्देशन दिए ।

रुपन्देहीको बेलहिया नाकामा पर्यटक लक्षित एकीकृत जाँच चौकी स्थापना गरेर नमुना काम भएको उल्लेख गर्दै अब प्रहरीले उक्त चौकीको उद्देश्य अनुसार सेवा प्रदान गर्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खांले सहकार्यले राम्रो काम गर्न सकिने बताउंदै ट्राफिक प्रहरीले दुख्ख दिने गरेको गुनासो गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लामो समयदेखि जिल्ला प्रहरीको चुहिने, डुवानमा पर्ने र सांघुरो कार्यालय भवन रहेकोमा अब नयां भवनबाट सेवा प्रवाह गर्न सहज हुने बताए । उनले जनताको मन जितेर नेतृत्व तहदेखि तलसम्ममा राष्ट्रसेवक कर्मचारीले काम गरे पछिसम्म जनताले सम्मन गर्ने बताउंदै जनताबाट सम्मानित हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुवेर कडायतले नयां र सुविधा सम्पन्न संरचनाले प्रहरीलाई उच्च मनोबलसाथ काम गर्न सघाउने बताए ।

रुपन्देही प्रहरी उपरीक्षक रन्जितसिंह राठौंरले ५९ वर्षपछि रुपन्देही प्रहरीले सुरक्षा मापदण्डसहितको नयाँ भवन लगायत पूर्वाधार प्राप्त गरेको बताए ।

नेपाल प्रहरी प्रदेश कार्यालयका इन्जिनियर डीएसपी रोशन सारुमगरले सुविधासम्पन्न २२ कोठासहितको कार्यालय परिसरभित्र कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, जुनीयर प्रहरी अधिकृत, हवाल्दार र जवान ब्यारेक, सुविधा सम्पन्न मेस, स्नान गृह र शौचालय रहेको बताए ।

जिल्ला प्रहरी रुपन्देहीको भवन बनाउन १४ करोड ९६ लाख १४ हजार ५ रुपैयां लागेको जानकारी गराए । सुरक्षा मापदण्डसहितको कार्यालय भवन र आवश्यक पूर्वाधार निर्माण भएपछि नियमित काममा थप सहजता हुने प्रहरी अधिकृतहरुले बताएका छन् ।

प्रहरी प्रशासनका प्रमुख, स्थानीय तहका प्रमुख, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।