विद्युतीय सवारी प्रयोगप्रति बुटवलको चासो

बुटवल । बढ्दो जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको महंगी र अभावलाई न्युनिकरण गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्ने बुटवल उपमहानगरले चासो जगाएको छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैंत्री सवारी साधन सञ्चालनमा बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुका बीच बुधवार छलफल भएको छ । बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनेमा सहमति जनाएका छन् ।

शहरी क्षेत्रको वातावरणीय प्रदुषण कम गर्न र मागभन्दा बढी हुने विद्युत खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने छलफल केन्द्रित थियो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीहरुका बीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको बुटवल उपमहानगरले जनाएको छ ।

छलफलमा विद्युतीय सवारी सञ्चालनका मोडलहरु, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा थप अध्ययनपछि दोस्रो चरणको छलफलमा निष्कर्ष निकालिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । देशकै सबैभन्दा धेरै सवारी साधन भएको पच्चिम नेपाल मध्येको बुटवल शहर भएको बताउँदै विद्युतीय सवारी सञ्चालनको शुरुवात पनि गर्नेगरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने नगरप्रमुख पायडेयले बताए ।

छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताए । उनले थपे, एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको छ । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै वातावरणमैंत्री सवारी सञ्चालनमाा लागिपरेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र त्यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक जनाउँदै स्वागत गरेका थिए ।