रिक्त दरबन्दी छिट्टै पूरा गर्छौः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाइ छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा एक हजार नौ सय कर्मचारीका लागि विज्ञापन गरिने बताएका छन् ।

सङ्घीय सरकारले हस्तान्तरण गरेको स्वीकृति दरबन्दीअनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ कर्मचारीको दरबन्दी रहेकोमा हाल दुई हजार एक सय ७८ कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्टै लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने बताउएका हुन् ।

गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले सन्धिखर्क नगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताउनुभयो । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै यसवर्ष स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोबल वृद्धि हुने विश्वास व्यत्तः गरेका थिए ।

मुख्यमन्त्री आचार्यलाई सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्याप्त बजेट नभएको, बजेट परेर पनि अर्घा भगवती विमानस्थलको काम अघिल्लो वर्ष हुन नसकेको, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेकोलागयतका योजनाबारे ध्यानाकर्षण गराउएका थिए ।

मुख्यमन्त्री आचार्यले राखेका योजनामा सङ्घीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाउन र पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता गर्दै सुशासन र पारदर्शितामा अगाडि बढ्न आफू प्रतिबद्ध भएर लागेको बताउँदै सबै योजनाका काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनेले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यान्वयन गर्ने बजेटमा पनि सबै काम प्रतिस्पर्धाबाट गर्न पत्राचार गरिने समेत बताएका थिए । नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाई गराउने र बीचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्पर्धाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको जनाएका थिए ।