आत्महत्याको डरलाग्दो तथ्यांकः एक वर्षमा ७ हजार गरे आत्महत्या


काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८० ०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८० ०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताए ।

एसडिजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए । उनकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए ।
उनले भने, ‘आत्महत्याका धेरै कारणहरु छन् । सबै व्यक्तिमा एउटै कारण त हुन्न । तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन् । फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन् । सामाजिक र सांस्कृतिक कारणहरु पनि छन् । आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन् । आत्महत्याको विद्यमान कारणहरु मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औँ कारण हो । वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन् । हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन् ।

विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एन्ड मिडिल इन्कम देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ । अध्ययनका अनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ । नेपालको हकमा गत आर्थिक वर्ष २०८० ०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । सरदर दिनमा २० जनाले आत्महत्या गर्दा रहेछन् । प्रतिलाखले २५ जना हुन्छ । हाम्रो एसडिजीको लक्ष्य ४.७ मा झार्ने छ । यो बढ्दै गएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्दा रहेछन् । १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या हो, नेपालको सन्दर्भमा ।
विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औँ कारण रहेको बताए । विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ । विश्वमा हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको उनले बताए । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।






















