कांग्रेस र एमालेको समिकरणले पूर्णता पाउंछ – विष्णु पौडेल

बुटवल, भदौ ३१ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार स्थिर सरकार भएको बताएका छन् । राणा र पञ्चायतकालमा पनि स्थिर सरकार नभएको उदाहरण दिंदै देशका प्रमुख दल कांगे्रस र एमालेको समिकरणमा बनेको यो सरकार अहिलेसम्मकै स्थिर सरकार दावी गरे ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सोमबार सम्पन्न ७१ औं साधारण सभामा बोल्दै उहांले यो सरकार आएपछि नागरिक र उद्योगीको आशा सञ्चार भएको बताए । नागरिकले खोजे जस्तै स्थिर सरकार आएको बताउंदै कांगे्रस र एमालेको समिकिरणले पूर्णता पाउने उनको दाबी छ । एमालेका उपाध्यषसमेत रहेका नेता पौडेलले प्रतिकुलताको आरोलोलाई सरकारले रोकेको उल्लेख गर्दै भने – अब निरास नहुनुस । आशाका साथ अगाडी बढ्नुस नीजि क्षेत्रको साथमा सरकार छ ढुक्क हुनुस । नीजि क्षेत्रका समस्या सुन्नका लागि आफुले समय छुट्टाएको उल्लेख गर्दै अहिलेको सरकार समस्या सुन्ने र सुल्झाउने सरकार भन्दै विश्वासका साथ आर्थिक गतिविधिका काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले आर्थिक क्षेत्र चलायमान भएको दाबी गर्दै नीजि क्षेत्रले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको र त्यही अनुसार सरकारले कामगरिरहेको बताए । बुटवलको मोतिपुर औद्यौगिक क्षेत्रले आकार ग्रहण गर्न नसकेको स्वीकार गर्दै केही विलम्ब भएपनि अब विलम्ब नहुने आश्वासन दिंदै नीजि क्षेत्रलाई हस्तान्त्रण गर्ने गरी आफुले काम गरिरहेको छु भन्दै आश्वासन दिए ।

आफु निर्वाचित क्षेत्रका जनताका अगाडी विकास निर्माणका कामहरु गरेर देखाउने उल्लेख गर्दै बुटवलको विकासलाई देशभर लैजाने गरी काम हुने दाबी गरे । फोहोर व्यवस्थापनमा विवाद नगर्न आग्रह गर्दै बुटवल– नारायणगढ सडक छिटो सम्पन्न गर्न सरकारले ताकेता गरेको दाबी गरे । अर्थमन्त्री पौडेलले बुटवल– गोरुसिङे सडक समयमा सम्पन्न गर्ने बताउंदै तिनाउ कोरिडोर, सिद्वाबाबा सुरुङमार्ग, साना ठूला आयोाजनाका कामहरु अब छिटो हुने बताए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल र पोखाराको विमानस्थल सञ्चालन गर्ने गरी सरकारले निर्णय गरेको जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीजि क्षेत्रका लागि सरकारले नीतिगत थायित्व दिनुपर्ने बताए ।उनले सरकारले परम्परागत तथा पुराना नियम कानुनहरु परिवर्तन गर्न नसकेकाले समस्या भएको बताउंदै समयको माग अनुसार देशलाई आर्थिक रुपले चलायमान गराउने गरी नियम कानुन बनाउन आग्रह गरेका छन् ।

बुटवल सबैका लागि सम्भावित क्षेत्र भएको उल्लेख गर्दै नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ । बुटवलमा बेलहिया नाकाबाट प्रसस्त भारतीय पर्यटक भित्राउन सकिने बताउंदै यसतर्फ सरकार र नीजि क्षेत्रको ध्यानजान आवश्यक छ भने ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको समग्र विकासका लागि बुटवल उपमहानगरपालिका सबै क्षेत्रसंग समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले देशको अर्थविकास लागिराज्य र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । अध्यक्ष अर्यालले नेपालमा अब आर्थिक रुपान्त्रण जरुरी रहेको बताउंदै नीजि क्षेत्रका लागि खुल्ला सीमाना बाधक रहेको बताउदै यस विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगी व्यवसायीका माग तथा समस्या समाधान हुन नसक्दा समस्या झेल्नु परेको बताए । पछिल्लो समय बैंक व्याजदर घटेपनि उद्योगी व्यवसायीले लगानी बढाउने वातावरण नहुंदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताउंदै नीजि क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले आर्थिक चलायमान नहुंदा उद्योगी व्यवसायी हत्तोसाही भएको बताउंदै अर्थव्यवस्था चलायमान बनाउन उनले अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिए । सरकार राजश्व बढाउन केन्द्रित हुंदा उद्योगी व्यवसायी झनै समस्यामा परेको उनको भनाइ छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षता र महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।