बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञानबारे अन्तरक्रिया


बुटवल, असोज ५ गते । बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञान प्रविधिबारे अन्तरक्रिया गरिएको छ । विज्ञान र प्रविधिमा भएको तीव्र विकास, नयां अर्थ राजनीतिक चरित्रलाई दर्शन र राजनीतिबीचको अन्तरसम्बन्धबारे छलफल गरिएको हो ।

नेकपाले आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताले नेपालका राजनीतिक पार्टीहरुमा देखिएको बैचारिक समस्याका कारण देश संकटमा परेको भन्दै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन माक्र्सवादका तीनवटै अंगहरुमा विकास जरुरी रहेको बताएका छन् ।
अवधारणा पत्र प्रस्तुत गर्दै नेकपा स्थायी समितिका सदस्य भरत सीले आजको विज्ञान प्रविधिको विकास र नयां अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको शंश्लेषण आवश्यक भएको बताए । विज्ञान प्रविधिको विकासलाई दर्शनमा नयां शंश्लेषण गरेर मात्रै दुनियां बदल्न सम्भव हुने उनको तर्क छ ।

नेकपा केन्द्रीय सदस्य सन्तोस सीले दर्शनशास्त्र र भौतिक विज्ञान एक अर्कामा अन्तरसम्बन्धित भएको भन्दै यसको संयोजनले मात्रै समाज विज्ञान अगाडी बढ्न सक्ने बताए ।
कार्यक्रममा नेकपा एमाले स्कुल विभागका नेता युवराज घिमिरे, एकीकृत समाजवादीका रुद्रलाल उपाध्याय, माओवादी केन्द्रका लेखनाथ भण्डारी, माक्र्सवादी साहित्यकार दिल साहनी, बिनहादुर कुंवर, डा. आरसी आचार्य, डा. बालकृष्ण चापागाई, राजनीतिज्ञ जीवलाल पन्थी, नागरिक अधिकारकर्मी पदम कार्की लगायतले आजको विकसित विज्ञान प्रविधि र अर्थ राजनीतिक चरित्रलाई समाज विज्ञानमा नयां संश्लेषण आवश्यक भएकोमा जोड दिए ।
नेकपा केन्द्रीय सदस्य शरद सीको अध्यक्षता, विश्वास सीको स्वागत र रुपन्देही सेक्रेटरी विरेन्द्र सीको सञ्चालनमा अन्तरक्रिया भएको थियो ।























