छविलाल जोशीले भनेः गलत संगतमा जोडिएछु

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संग्लन पूर्वडिआइजी छविलाल जोशीले आफू गलत संगतमा जोडिएको बताएका छन्। जिल्ला अदालत कास्कीमा सोमबार म्याद थपअघि भएको बहसमा उनले आफू रकम हिनामिनामा संग्लन भएको बताएका हुन् । गलत मान्छेसँग जोडिएछु। जब थाहा भयो त्यसपछि उनीहरु (जीबी राई र रवि लामिछाने) को संगत छाडे’, उनले भनेका थिए ।

सोमबार न्यायाधीश चन्द्रकान्त शर्माको इजालसलले जोशीलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ । जोशीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ कसुरमा अनुुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिनको म्याद मागेको थियो ।

जोशीको तर्फबाट अधिवक्ता रोचक जोशी, रोहितराज बास्तोला र कृष्ण थापाले बहस गरेका थिए । उनीहरुले गोरखा मिडिया नेटवर्कमा जोशीको ३५ प्रतिशत शेयर २०७८ सालमै बिक्री गरेर बाहिरिएको बताएका थिए । सामान्य तारेखमा बसेर अनुसन्धान गर्नुपर्ने जोशीको पक्षमा वकालत गरेका कानून व्यवसायीको माग हो ।

संददीय छानबिन विशेष समितिले सहकारीको रकम गोखरा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो । आइतबार काठमाडौँबाट पक्राउ गरेर राती नै जहाजमार्फत पोखरा ल्याइएको हो । पूर्वडिआइजी जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेको गितेन्द्रबाबु राई (जिबी), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका थिए ।