लुम्बिनी प्रदेश: मन्डला आकारको प्रशासनिक भवन बन्दै


बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा निर्माणाधिन मन्डला आकारको प्रशासनिक भवनको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रुपमा प्रशासनिक पूर्वाधार निर्माणकार्य सुरु भएको करिव दुई वर्षको अवधिमा ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

२०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर प्रशासनिक भवनको तत्कालीन मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेका थिए । निर्माणाधीन प्रशासनिक भवनबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज सञ्चालन हुने जनाइएको छ । मन्त्रालय, विभाग, निर्देशनालयहरु, मातहतका अन्य कार्यालयहरुले एकै थलोबाट सेवा प्रवाह गर्ने बताईएको छ ।
यसबाट नागरिकहरुलाई प्रादेशिक सरकारको अनुभूति हुने स्थानीयबासी बुद्धी वलीले बताए । “बलियो प्रदेश बनाउन आफ्नै संरचना चाहिन्छ । नयाँ दृष्टिकोणसहित प्रदेशको प्रशासनिक कामलाई चुस्त र सबैको पहुँचमा पु¥याउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र आवश्यक पर्दो रहेछ, उनले भने, डेढ वर्षमा भएको भौतिक प्रगति राम्रो छ ।

हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । अब एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण भइरहेको छ । १९ बिगाह क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । प्रदेशसभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, भौतिक संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरुपता प्रदान गर्ने विश्वास गरिएको छ ।
अबको एक वर्षभित्र नयाँ भवनबाट प्रशासनिक कामकाज सुरु गर्ने लक्ष्य रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । “अहिले जहाँ जे छन्, त्यसैगरी चल्छन् । नयाँ संरचना सरकारलाई हस्तान्तरण भएपछि सर्नुपर्ने कार्यालयहरु नयाँ प्रशासनिक भवनमा सारिनेछ, मुख्यमन्त्री आचार्यले भने, “एकै ठाउँबाट प्रशासनिक काम हुँदा सेवा लिने र सेवा दिनेलाई सजिलो हुन्छ । यसले प्रदेशको कार्यसम्पादनमा नयाँ गति मिल्नेछ ।
एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माण भइरहेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइले जनाएको छ । कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताए ।
निर्माणाधीन भवनमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन छ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, बैठक कक्ष र बहुउद्देश्यीय हलसहित ९६ कोठा रहनेछन् । जसमा दुईवटा ‘लिफ्ट’ रहनेछन् भने भुइँतला अपाङ्ग मैत्री हुने जनाइएको छ ।






















