सीमा पथको सडक बिस्तार हुन थालेपछि स्थानीय खुशी

बुटवल, असोज १७ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमानामा पर्ने सीमा पथ सडक बिस्तार हुन थालेको छ । दुईवटा नगरपालिकालाई छुट्टाएको सडक विस्तारको काम आइतबारदेखि शुरु भएको छ ।
मगरघाटदेखि योगीकुटीदेखि विद्युत कार्यालयसम्म सडक बिस्तार गर्नेगरी सडक विभाग कार्यालय बुटवलले यस अघि सर्वे गरेको थियो । सडक भत्किएर बिचमा परेका खाडलहरुमा वर्षातको समयमा पानी जमेर हिलाम्य र हिउंदको समयमा धुलो उडेर सडक यात्रीले सास्ती भोग्नु परेको थियो ।
सवारीका साधनसमेत गुड्न नमिल्ने गरी सडक भत्किएको सडक विस्तारको काम शुरु भएको सीमा पथ सडक सहजीकरण समितिका सचिव डिल्लीनारायण पाण्डेयले बताए । सीमा पथको सडक हिड्न र सवारीका साधन चलाउन नमिल्ने गरी भत्किएको लामो समयसम्म नबन्दा स्थानीयले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई बजेट व्यवस्थापनका लागि माग गरेका थिए ।
दुवै स्थानीय सरकारले सीमा पथको सडक विस्तारका लागि बजेट छुट्टाउन सकेका थिएनन् । स्थानीयको सक्रियतामा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग बजेट माग गरेपछि अघिल्लो आर्थिक वर्षमा केन्द्रिय सरकारबाट बजेट परेको हो । १० करोड बजेट परेको सीमा पथको सडक आगमी जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी अहिले काम शुरु भएको छ ।
१० करोडको बजेटमा डेढ किलो मिटर उक्त सडक ५० फुटे बन्ने छ । नालीसहितको ५० फुटे सडकमा ३५ फुट कालोपत्र हुने सीमा पथ सडक सहजीकरण समितिका सचिव डिल्लीनारायण पाण्डेयले जानकारी गराए । मुख्य सडक पूर्वको एशी आइपिक इन्जिनियर र पश्चिम मगरघाटसम्म सिद्वार्थ दर्शन विल्डर्स प्रालि ठेकेदार कम्पनीसंग सम्झौता भएको छ ।
सीमा निर्धारण गरेको महत्वपूर्ण सडक भत्किएर जीर्ण बनेको लामो समयसम्म बुटवल उपमहानगारपालिका र तिलोत्तमा नगरपालिकाले चासो नदिएको भन्दै रुष्ट स्थानीय अहिले सडक बन्न थालेपछि खुशी भएका छन् ।पश्चिम सीमा पथ सडक सहजीकरण समितिका अध्यक्ष भूमि सापकोटाले हामी स्थानीय आफैले पहल गरेर सडक बनाउन सफल भैएको बताए ।