बसको टिकटमा पहुँचवालाको कब्जाः अग्रिम बुकिङ नखुल्दै भाडा हाताहाती, टिकट उधारो


काठमाडौं । कैलाली घर भएका नरेश शाही काठमाडौंमा अध्ययनरत छन् । उनी काठमाडौं बस्न थालेको चार वर्ष भयो । दशैँको बेला गाडीको सिट पाउन निकै सकस पर्छ भन्ने उनलाई थाहाँ छ । त्यसैले शाहीले असोज लाग्नासाथ कैलाली जाने गाडीको टिकट काटिसकेका छन् ।

‘मैले त टिकट काटिसकेँ, बुकिङ खुलेपछि जाँदा त टिकटै पाइँदैन’, शाहीले भने, ‘म त दशैँको बेलामा त्यसै गर्छु ।’ शाहीले रकम बुझाए पनि टिकट भने पाएका छैनन् । टिकट काट्ने ठाउँ र गाडीवाला पनि आफ्नो चिनजानको भएकाले अग्रिम टिकट बुकिङ खुलेपछि टिकट दिने भनिएको शाही बताउँछन् ।
सप्तकोशी नगरपालिका स्थायी घर भएका उमेश गिरी काठमाडौंमा बसोबास गर्छन् । दशैँतिहार लगायत चाडबाडका बेला उनी घर जाने गर्छन् । हाल एक निजी विद्यालयमा शिक्षण पेसा गरिरहेका गिरीलाई सोमबार यातायात मजदुरले फोन गरे । सोधे, ‘दशैँ मनाउन घर कुन दिन जाने हो ?’ एक्कासी फोन आउँदा गिरी अलमलमा परे ।

फोन गर्नेलाई सोधे, ‘दशैँका लागि अग्रिम टिकट बुकिङ त खुलेको छैन, होइन ?’ उताबाट जवाफ आयो, ‘सबै सिट बूक भइसक्यो, तपाईं सधैँ हाम्रो गाडी चढेर जाने भएकाले फोन गरेको, कति गतेको टिकट बूक गरिदिऊँ ?’
गिरीले असोज २३ मा जाने गरी टिकट बूक गरिदिन भने । तर, भनेको मितिअनुसार टिकट पाएनन् । ‘अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो नलाग्दै बूक गर्दा त सुमोमा अगाडीकै सिटको टिकट पाइन्छ भन्ने लागेको थियो’, गिरीले भने, ‘तर, २३ गतेको लागि त ४ नम्बरको सिटमात्र खाली छ भन्यो, मैले त्यही भए पनि बुकिङ गरिदिनू भनेँ ।
फोन गर्ने गाडीका ती कर्मचारी चिनजानका व्यक्ति भएकाले आफूले सिट पाएको गिरीले बताए । ‘पोहोर गाडीको प्यासेजमा बसेर घर जानुपरेको थियो, चिनजानको यातायात मजदुर नभएको भए यो पटक पनि त्यसरी नै जानुपर्थ्यो होला । अहिले गिरीले आफ्नो सम्पर्कमा भएको व्यक्तिलाई पनि टिकटका लागि उनै यातायात मजदुरको नम्बर दिन थालेका छन् । ‘टिकट खुलेपछि त के हो के त्यसैले मैले त अहिले नै साथीहरुलाई पनि टिकट काट्न सुझाएको छु’, गिरी भन्छन् ।






















