साफ फुटवलमा नेपालको लगातार दोस्रो जित

 

 

  • श्रीलंकालाई ३–२ गोलले हरायो
    बुटवल/माल्दीभ्समा जारी साफ च्याम्पियनसिप(२०२१ मा नेपालले लगातार २ खेलमा जित हात पारेको छ । यो जितसंगै नेपालको साफ च्याम्यिनसिपको फाइनलमा पहिलो पटक पुग्ने सम्भावना बलियो भएको छ ।
    फाइनल प्रवेशका लागि अब नेपालले भारत र बंगलादेश मध्ये एकलाई पराजित गर्नु पर्ने छ । यो जितसँगै नेपाल लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ । नेपाल पछाडि बंगलादेश ४ अंकमा रहेको छ । भारतको १ अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । लगातारको जितले नेपालको फाइनल पुग्ने सम्भावना निकै बलियो भएको छ ।
    नेपालले आफ्नो तेस्रो खेल भारतसंग खेल्दैछ । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो अन्तिम लिग खेल बंगलादेशविरुद्ध खेल्नेछ ।
    नेपालले सोमबार आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो । लगातार दोस्रो जित निकाल्दै नेपालले समुहमा ६ अंक निकालेको छ । श्रीलंकाको खेलमा नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले गोल गरेका हुन । नेपालका लागि सुमनले पहिलो हाफमा पहिलो गोल गरेका हुन भने आयुषले अन्तिम गोल गरेका थिए । दुबैले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
    नेपालका लागि सुमनले ३३ औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । सुमन सन् २०१६ को बंगबन्धु गोल्डकपमा डेब्यु गरेको भएपनि खेल्ने अवसर कम पाएका थिए । नेपालका लागि दोस्रो गोल अञ्जनले ५१ औं मिनेटमा गरेर अग्रता बढाएको भएपनि नेपालले लगतै गोल खाएको थियो । श्रीलंकाका तर्फबाट मार्भिन ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गरेर अन्तर साधुरो पारेका थिए । २–१ गोलमा चलिरहेको खेलमा नेपालका तर्फबाट आयुषले ८६ औं मिनेटमा गोल गर्दै खेल नेपालको पक्षमा पारेका थिए । आयुसको यो डेब्यु गोल थियो । श्रीलंकाले खेलको अन्तिम मिनेटमा नेपाली खेलाडीले डिबक्समा गरेको फाउलका कारण पेनाल्टी प्राप्त गरेको थियो, त्यसलाई डिल्लोन डी सिल्भाले श्रीलंकाका लागि गोल गरेका थिए ।
    नेपालले पहिलो खेलमा आयोजक तथा डिफेन्डिगं च्याम्पियन माल्दिभ्सलाई १ शुन्यले हराएको थियो ।