रुपन्देही व्यापार संघले रजत जयन्ती मनाउने

बुटवल । रुपन्देही व्यापार संघले हिन्दुहरुको महान चाड वडादशै, तिहार, छठ तथा नेपाल सम्बत–२०८१ को अवसरमा सोमवार संघको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आउदै गरेका चाडहरुले सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्दै सबैमा शुभकामना आदानप्रदान गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले जिल्लाभित्र छरिएर रहेका व्यवसायहरुलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरु तथा निरन्तर व्यवसायिक गतिविधिहरु गर्दै आएको बताउँदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रुपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाएका थिए ।

अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रुपमा साताव्यापी कार्यक्रमसहित मनाउने निर्णय गरेको बताउँदै संघले मनाउन गईरहेको रजत महोत्सव कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गरेका थिए । संघले साताव्यापी रुपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

जसमा कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निशुल्क फलफूल वितरण तथा रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम रहेको बताईएको छ ।

रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रुपमा कार्तिक २८ गते प्रधानमन्त्रीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान, स्मारिका प्रकाशन तथा स्तम्भ अनावरण गर्ने जनाइएको छ ।