माटाका भांडा बनाउने सीप सिक्दै नयां पुस्ता


विकास बञ्जाडे

कपिलवस्तु, कार्तिक ९ गते । दशैं, तिहार, छठलगायतका विभिन्न पर्वहरुमा परम्परादेखि माटाका भांडा र मूर्ति प्रयोग हुने गरेका छन् । माटाबाट बन्ने सामग्री जोगाउन कपिलवस्तुमा पुरानो पुस्ताले नयां पुस्तालाई सिकाउंदै आएको छ । परापूर्व कालदेखिको पेशा संरक्षणका लागि पनि पुरानो पुस्ताले नयां पुस्तालाई पेशामा लाग्न पे्ररित गर्दै आएको देखिन्छ ।
कपिलवस्तुको भवानी भिक्षुचोक तौलिहवास्थित बाबा मूर्तिकला केन्द्रमा यतिबेला माटोबाट बन्ने कलात्मक भांडा तथा मूर्ति बनाउन भ्याइनभ्याई छ ।
नेपालीको महान् चाड बडादशैं, तिहार, छठलगायत पर्वमा माटाका भांडा र कलात्मक मूर्ति प्रयोग गर्ने प्रचलन छ । चाडबाडलाई लक्षित गरेर माटाका भांडा र मूर्ति बनाउन थालेको केन्द्रका प्रोपाइटर सुनिलकुमार तिवारी बताउछन् । केन्द्रले तीनजना युवालाई सीप सिकाउनुका साथै चाडबाडका लागि मूर्तिको माग पूरा गर्ने उद्देश्यले काममा खटिएका छन् । उनीहरुले घैटा, गमला, आरी, खुत्रुके, हौदी सहित माटाका भाँडा र नवदुर्गा भवानी, गणेश, मैशासुर राक्षस, लक्ष्मी जस्ता देवीदेवताका मूर्ति बनाउंदै आएका छन् ।
सबैतिर प्लास्टिकजन्य समानको बढ्दो प्रयोगले परम्परागत माटाका भांडा र मूर्ति ओझेल परिरहेका बेला यस्ता मौलिक सामान जोगाउने उद्देश्यले तिवारीले युवालाईहरु प्रेरणा दिएर सीप सिकाउंदै छन् । तिवारीले शिक्षा व्यावहारिक र सीपमूलक हुनुपर्ने बताए ।

कपिलवस्तु मानपुरका ७२ वर्षीय रामचन्द्र कोहार पनि दुई जना युवालाई परम्परागत सीप सिकाउँदै चाडबाडमा आवश्यक पर्ने माटाका भांडा र विभिन्न देवी देवताका मूर्ति बनाउन लागिपरेका छन् ।
परम्परागत सीप सिक्दै गरेका युवाले भविष्यमा स्वदेशमै यस्ता सामान बनाएर स्वरोजगार बन्ने लक्ष्य लिएका छन् बडादशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर बनाइएका माटाका भांडा, देवीदेवताका मूर्ति र पूजा सामग्री कपिलवस्तु जिल्लामा मात्रै एक करोडको हाराहारीमा कारोबार हुने गरेको छ ।
स्वदेशमा धेरैभन्दा धेरै युवालाई सीप सिकाएर रोजगारी बनाउन सकिन्छ । माटाका भांडाहरु प्रयोगमा आए प्लाष्टिकजन्य समानको प्रयोगमा कमी आउने सरोकारवालाको भनाइ छ ।























