बुटवलमा सुरक्षित यात्रा नेपालद्दारा सहायता कक्ष सञ्चालन


बुटवल, कार्तिक १५ गते । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवलका नयाँ बसपार्कमा यात्रुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

चाडपर्वको अवसरमा यात्रु तथा मानिसको आवतजावत बढ्ने र यसका कारण सार्वजनिक यातायात क्षेत्रमा हुन सक्ने अत्यधिक चाप र दुर्घट्नाको जोखिम न्युनिकरणका साथै यात्रुहरुको सुरक्षित रुपमा गन्तब्यमा पुग्ने अधिकारलाई सुनिस्चित गर्न र यात्रुलाई यात्राको क्रममा हुन सक्ने असुविधामा सहजिकरण र सहायता गर्ने उदेश्यले यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेले जानकारी गराएका छन् ।
तिहारमा यात्रुको अत्यधिक भिड्भाड् हुन सक्ने समय भएकाले कात्तिक १५ गतेदेखि कात्तिक २० गतेसम्म बुटवलको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष बेलबासेले जानकारी दिए ।

यसअघि दशैंको अवसरमा घटस्थापनादेखि १५ दिनसम्म सञ्चालन गरिएको यात्रु सहायता कक्षबाट भारतबाट नेपाल फर्कने क्रममा ठगिएर र लुटिएर बेखर्ची भएकाहरुलाई निशुल्क रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था, यात्राका क्रममा हराएका र छुटेका यात्रुका सामानहरु नेपाल प्रहरी, बस र सार्वजनिक सवारीसाधन धनीहरुसंगको समन्वयमा खोजविन गरि सम्बन्धित व्यक्तिहरुलाई बुझाउने कार्य, लामो दुरिका गन्तव्यसम्म पुग्ने टिकट र बस नपाउने यात्रुहरुलाई टिकट तथा सवारी साधनको व्यवस्था, बढी भाडा लिने सवारी साधनहरुबाट बढी लिइएको भाडा रकम यात्रुलाई फिर्ता गर्ने, सार्वजनिक सवारी साधनहरुमा ट्राफिक सचेतनामूलक स्टिकर टाँस जस्ता कार्य र गुनासाहरु समाधान गरिएको सुरक्षित यात्रा नेपालका दीपक ढकालले जानकारी दिए ।
सञ्चालित यात्रु सहायता कक्षबाट यात्रुहरुले सार्वजनिक यात्रामा बढी भाडा लिने, सिट क्षमता भन्दा यात्रु राखेर यात्रा असुरक्षित बनाउने तथा आफुहरुलाई पर्ने जुनसुकै समस्या तथा गुनासाहरु भएमा सहायता कक्षमा सम्पर्क गर्न दीपक ढकालले आग्रह गर्नुभएको छ ।
सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बुटवल रुपन्देही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. प्रधान कार्यालय बुटवल लगायत सरोकारवाला निकायहरुको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।



















