नेपाल संवत् ११४५ शुरु, देशैभर कार्यक्रम


काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
तर पछिल्ला केही वर्षदेखि भने देशैभर मनाउने गरिएको छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता शुरुआत गर्ने परम्परासमेत अझै छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । शङ्खधर प्रतिष्ठानद्वारा शनिबार शङ्खधर चोकमा आयोजित माल्यार्पण कार्यक्रममा नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको हो ।
अन्य मन्त्री एवं सांसदहरुले विभिन्न ठाउँमा भएका कार्यक्रममा सहभागीता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर चोकमै भएको कार्यक्रममा सहभागीता जनाए । काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित भिन्तुना पदयात्राको समुद्धाटन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरे । रक्तदानदेखि लिएर विभिन्न चियापानका आयोजनासमेत गरिएको छ ।






















