मौलिकतामा आँचः देउसी भैलोमा आधुनिकता

बुटवल। देउसी भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रुपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाँच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको पाइन्छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाकाहरु चिन्तित बनेको देखिन्छ । यमपञ्चक शुरु भएपछि बुटवल बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरुको भीड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ ।

तिहार पर्वसँग मादल, बाँसुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । हिजोआज देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र र्‍याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, र्‍याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् ।

परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित पारेको बुटवल ९ कालिकानगरका राजेशमान श्रेष्ठले बताए । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकता सहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उनको कथन छ । भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै श्रेष्ठले दुखेसो जताए ।

जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन, उनले भने ,“हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित गर्‍यो ।”

तिलोत्तमा नगरपालिका ३ का विशाल पाण्डेयले बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार गर्छन् । अहिले देउसीभैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रुपमा मौलिकता गुमिनसकेकाले सम्बन्भित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाए ।