सूचना आयुक्तमा डा आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उनलाई सिफारिस गरेको हो ।

यसैगरी समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

यसपालि पहिलो पटक तीनै जना पत्रकारिता पृष्ठभूमिबाट सिफारिस गरिएको हो । प्रतिनिधि सभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ ।

प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए । आयुक्तमा दिनेहरुमा प्रमुख आयुक्तमा पनि दिएका अधिकांश थिए । यसअघि तेस्रो कार्यकाल सकिँदै गर्दा अहिलेसम्म ‘डेमोक्र्याट’ ले नेतृत्व सम्हाल्ने मौका पाएका थिएनन् । यसपालि राष्ट्रिय सूचना आयोग चाहिन्छ भनेर आयोग बन्नुभन्दा धेरै वर्ष अगाडिदेखि नै लबिइङ गर्दै आएका आचार्य पहिलो पटक डेमोक्र्याट कोटाबाट प्रमुख आयुक्त सिफारिस भएका हुन् ।

२०६५ सालदेखि शुरु भएको राष्ट्रिय सूचना आयोगमा तेस्रो कार्यकाल सकिन थालेको हो । अब बन्ने पदाधिकारीहरु चौथो कार्यकालका लागि हुन् । पहिलो प्रमुख सूचना आयुक्त विजय कसजू हुन् । श्री आचार्य र सबिता भण्डारी बराल सूचना आयुक्त भएका थिए । उनीहरुको २०६५ साल जेठ २४ गतेदेखि २०६९ साउन २ गतेसम्म कार्यकाल रहेको थियो ।

दोस्रो कार्यकालका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा थिए । किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना आयुक्त थिए । उनीहरुको कार्यकाल २०७१ पुस ३० देखि २०७६ पुस २३ गतेसम्म रहेको थियो ।

तेस्रो कार्यकालका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ हुन् भने कमला ओली थापा र रत्नप्रसाद मैनाली आयुक्त हुन् । राष्ट्रिय सूचना आयोगको पृष्ठभूमि लामो छैन । यसको जरुरी कांग्रेस निकटकाहरुले बढी देखेर पहल थालेका थिए । तर अहिलेसम्म ‘डेमोक्रयाट’ निकटकाहरु कोही पनि प्रमुख आयुक्त बन्न पाएका थिएनन् ।

कसजूलाई माओवादी केन्द्रले प्रमुख बनाएको थियो । बास्कोटा र गुरुङलाई एमालेले प्रमुख आयुक्त बनाएको थियो । यसलाई सन्तुलनमा ल्याउनका लागि यसपालि पहिलो पटक ‘डेमोक्रयाट’ अनुहार आएका हुन् । डा. सुरेशप्रसाद आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् । सूचनाको हकका लागि उनले महासंघको सभापति हुँदादेखि नै लड्दै आएका हुन् । आयोग बन्नुमा उनको पनि ठूलो हात छ ।