रुपन्देही व्यापार संघले रजत महोत्सव मनाउने


बुटवल । रुपन्देही व्यापार संघ बुटवलले २५ औं बर्षको अवसरमा साताब्यापी कार्यक्रम गरी रजत महोत्सव मनाउने भएको छ । २०५७ साल कार्तिक २८ गते स्थापना भएको संघले आफ्नो पच्चीस बर्षको अवसरमा विभिन्न सात वटा कार्यक्रम गरेर मनाउने तयारी गरेको हो ।

संघले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको छ । सम्मेलनमा स्वागत मन्तव्य राख्दै रजत महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रकाशराज पौडेल व्यावसायिक हकहित र काम कारबाही गर्दै आएको बताए ।
व्यापारी व्यापारी समुदायबीचको मैंत्रीपूर्ण र संगठित भावना पैदा गर्दै एक्काइसौं शताब्दीको व्यवसायीक सीप, अनुभव, प्राविधिक दक्षता अभिवृद्धि गर्ने तथा देखिएका समस्याहरुको पहिचान र निराकरण गर्दै राष्ट्रिय अर्थतन्त्र र व्यापारलाई सुढृद सक्षम बनाउनका लागि खोलिएको संघले व्यापारीहरुको हितका निम्ति काम गर्दै आएको रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले बताए । बुटवल बजार किन सुनसान भयो भन्ने कुरामा हामीहरुले अन्तर्क्रिया र गोष्ठी गरेको र जसले गर्दा अहिले पचास प्रतिशत घर वहाल घटेको अध्यक्ष दीपकको दाबी थियो ।

रजत जयन्तीको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रमको पहिलो दिन २२ गते विहिबार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने, २३ गते शुक्रबार रुपन्देहीमा व्यापारको ईतिहास र वर्तमान, सम्भावना र चुनौती विषयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने जनाइएको थियो ।
२४ गते शनिबार संघसंस्थाविच मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा २५ गते आईतबार संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरिने उल्लेख छ ।
त्यसैगरी २७ गते नै प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिने संघले जनाएको छ । २८ गते रजत महोत्सवको मुल समारोह आयोजना गरिने र सोही समारोहमा संघले प्रकाशन गरेको स्मारिका विमोचन, रजत महोत्सव स्तम्भ निर्माण तथा उद्घाटनको समेत कार्यक्रम गरिने भएको छ । समारोहमा उत्कृष्ट व्यापारीसमेत गरी चार सयलाई सम्मान गरिने र संघमा हालसम्म ४ हजार दुई सय सदस्यहरु रहेको बताइएको छ ।























