सहकारी ठगलाई सरकारको संरक्षण – चित्रबहादुर

बुटवल, कार्तिक २४ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगहरुलाई संरक्षण गरेको बताएका छन् । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ ।

शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको दोस्रो राष्ट्रिय भेलामा बोल्दै सरकार र सत्तामा बस्नेहरुको आडमा नै सहकारीको पैसा अपचलन भएको बताए । उनले लुटेरा, बदमास र तस्करहरुले राज्य सत्ताको आडमा मनोमानी गर्दा पनि कारबाही हुन नसक्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो भने ।
राम्रोसंग खोजी गरे एमाले, कांगे्रस, राष्ट्रिय स्वतन्त्र पार्टीमा अझै सहकारी अपचलन गर्नेहरु भेटिने बताउंदै सहकारी अपचलन गर्ने जो सुकैलाई पनि हदैसम्मको कारवाही गरी पिडीत पक्षलाई न्याय दिनुपर्ने अध्यक्ष केसीको भनाइ छ ।

एमाले, माओवादी, कांगे्रसको राजनीति भनेको कमाउने राजनीति भएको दाबी गदैृ उनले भने – उनीहरु ठुला र धेरै हुंदाहुंदै पनि जनताबाट नांगिदै गएका छन् । नयां बनेर आएका विदेशी एजेण्टहरुले ठग्नमा पुराना एमाले र कांगे्रसलाई जितेको भन्दै रास्वपाप्रति व्यङे गर्दै आलोचना गरे ।सांसदसमेत रहेका अध्यक्ष केसीले आफु उपप्रधान तथा सहकारी मन्त्री हुंदा काठमाण्डौका ठूलाठूला सहकारी ठगहरुले सहकारीका साधारण सभा उद्घाटनका लागि निम्ता दिन आएको स्मरण गर्दै भने – सहकारी ठग्ने मान्छेहरुलाई राज्य सत्तामा बस्ने मान्छेहरुले संरक्ष गर्ने गरेको राम्रोसंग थाहा पाएको हु ।

सहकारी मन्त्रलायमा सहकारी दर्ता गर्दा नै पैसा खाने गरेको आफुले भेटाएको बताउंदै गलत मान्छेलाई कारवाहीका लागि २०४८ को सहकारी ऐन परिवर्तन गरेर नयां ऐन ल्याउने बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेको अध्यक्ष चित्रबहदुर केसीले खुलसा गरे । सबै ठाउं कडा भएर हुदैन दाई कुनै ठाउंमा त नरम हुनुपर्छ भन्दै ओलीले आफुलाई सहकारी ठगहरुका माग अनुसार काम गर्न अनुरोध गरेपनि आफुले गलत नगरेर उनीहरुलाई कारवाहीको लागि अडान राखेको बताए ।

एमाले, कांगे्रस र माओवादीको गलत नीति र गलत व्यबहारका कारण राजनीतिप्रति जनताको वितिष्णा पैदा भएको बताउंदै ठूला भन्ने दलहरुले राजनीतिलाई कमाइ खाने भांडो बनाएको आरोप लगाए । उनले संघीयताका कारण यो व्यवस्था भत्किन सक्ने बताउंदै हिजो गणतन्त्र ल्याउन लडेकाहरुबाटै लोकतन्त्र, गणतन्त्र धरापमा परेको छ भने । सहकारीको माध्यमबाट समाजबादमा जान सकिने बताउंदै राष्ट्रिय पूंजीको विकासका लागि सहकारी सही ढंगले सञ्चालन गर्नुपर्ने अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहकारीको २ खर्वको पूंजी ठगी भएको र एक लाख बढी बचतकर्ताहरु सडकमा आएको बताउंदै सहकारीको पैसा विदेश लगेर व्यक्ति विशेषले मोजमस्ती गरेको बताए । सहकारीको पूंजी उत्पादन क्षेत्र र राष्ट्रिय पूंजीसंग जोड्नु पर्ने बताउंदै दलाल पूंजी हावी हुंदा समस्या आएको महासचिव भट्टको तर्क छ ।

कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्त, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, अधिवक्ता चुरामणी भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यपार संगगठनका अध्यक्ष ढुण्डीरुाज शर्मा, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, अन्टुकका अध्यक्ष लोकराज भुसाल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, वामपन्थी नेता दुर्गानाथ खरेल, हरि राहाडी, रुकबहादुर पराजुली, सहकारी अभियान्ता गंगालाल सापकोटा, दीलबहादुर नेपालीलगायतले बोल्दै सहकारी अपचलन गर्नेहरुलाई कारवाही गरी पींडित बचतकर्तालाई न्याय दिन सरकारसंग माग गरेका छन् ।

वामपन्थी नेता भैरवराज रेग्मीको अध्यक्षता र शुक्रराज भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।