लोपन्मुख सुगन्धकोकिला उत्पादनको हब बन्दै छिल्लीकोट

दाङ । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा विश्वकै लोपन्मुख मानिने सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको हब बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले बताएका छन् ।

विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गरेका छन्, उनले भने । सुगन्धकोकिला प्रतिकिलो सात सय ५० सम्ममा बिक्री हुने गरेको छ । विगतमा हामीले किलोको पाँच सयसम्ममा बिक्री गरेका थियौँ, उनले भने, तर, अहिले मूल्य वृद्धि भएको छ ।

त्यहाँका १० गाउँका एक सय पाँच घरले नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेको बताईएको छ । वार्षिक एक सय ५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने जनाइएको छ । सुगन्धकोकिला विदेश निर्यात गरिन्छ । यहाँबाट सुगन्धकोकिलाको कच्चा पदार्थ लगेपछि के बन्छ, भन्ने कुरा गाउँलेलाई थाहाँ नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । यहाँबाट हामी कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको अत्तर, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनेका हौँ, उनले भने, तर, अरु केमा प्रयोग हुन्छ, भन्ने त्यति जानकारी छैन ।

एउटा रुखमा एकपटकमा दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो । यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयहरुको माग छ । पहिले–पहिलेका रुख सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ, रेउलेले भने, सरकारले संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत बढ्ने र रुख संरक्षण हुने अपेक्षा जनाए ।

पछिल्लो समय वन कार्यालयले केही रुख रोपे पनि संरक्षण तर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा लिइने अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको उचाइमा फस्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि यसले उत्पादन दिने र यसलाई व्यवस्थित गर्न सकिए देशलाई आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । यहाँ उत्पादित सुगन्धकोकिलाले बेलाबेलामा बजार नपाउने समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिनुपर्ने माग स्थानीयको छ ।