रुपन्देही ब्यापार संघले मनायो रजत महोत्सव, व्यवसायीप्रति सरकार गम्भीर छ, मन्त्री भण्डारी



बुटवल, कार्तिक २८ गते । रुपन्देही ब्यापार संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न भएको छ । साताव्यापी कार्यक्रमको आयोजना गरी संघले बुधबार मुल समारोहको आयोजना गरी वार्षिकोत्सव तथा रजत महोत्सव मनाएको हो ।
बुधबार आयोजित कार्यक्रममा बोल्दै संघीय उद्योग, वाणिज्य तथा आफूर्ति मन्त्री दामोदर भण्डारीले बैंकहरुको बढ्दो रकम संकलन र उद्योग व्यवसायमा घट्दै गएको लगानीलाई ध्यानमा राखेर सरकारले निकास खोज्ने बताए ।

उनले नीजि क्षेत्रसंगको समन्वय र सहकायमा सरकार अघि बढ्ने सरकारको स्पष्ट नीति भएको व्यवसायीलाई आश्वासन दिंदै सरोकारवाला निकायसंग छलफल गरी निकास निकाल्ने मन्त्री भण्डारीले बताए ।
मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउने योजनामा सरकारका सबै युनिट क्रियाशील भएको दाबी गर्दै भने – बैंकहरुमा रकम थुप्रिएको उल्लेख गर्दै उद्योगी व्यवसायी लगानी नभएर निराश भएकाले सरकारले गम्भीर चासोका साथ दुवै पक्षलाईसंगै राखेर छलफल गरी निकास खोज्ने तयारी छ ।
अहिलेको जटिलता हटाउन सबैको समन्वय जरुरी रहेको बताउंदै नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न र आयातित वस्तु कम बेच्ने योजनामा लाग्न व्यवसायीलाई आग्रह गरे । निराशाका कुरा गरेर सबै बिग्रियो भन्ने सन्देशले सकारात्मक सन्देश नदिने उल्लेख नीजि क्षेत्रको पूंजी र बैंकमा भएको पूंजी परिचालन गरेपछि अहिलेको समस्या केही समाधान हुने मन्त्री भण्डारीको तर्क छ ।
स्वदेशी उत्पादन प्रवद्र्ध सरकारको मुख्य उद्देश्य भएकाले अहिले उत्पादन भएका ६० वटा वस्तु ब्राण्डिङ र सरकारी कार्यालयमा स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीतिलाई कार्यान्वयनमा लैजाने तयारीमा सरकार रहेको मनत्री भण्डारीले बताए ।।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाकी उपमेगर सावित्रा अर्याल, रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालदी, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोलेका थिए ।
संघका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्तको सञ्चालन र वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा कार्यक्रम भएको थियो ।
संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा रजतस्तम्भ अनावरण र स्मारिका विमोचन गरियो ।






















