ढुवानी समितिको साधारणसभाः ढुवानी ग्रामलाई व्यवस्थित गर्न जोड

बुटवल । ढुवानी व्यवसायी समिति रुपन्देहीको १८ औं बार्षिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष माधव नेपालले नेपालले ढुवानी व्यवसायलाई सुदृढ र व्यवस्थित बनाउनका लागि भाडामा एकरुपता तथा सेवामा इमान्दारिता हुनुपर्नेमा बताएका छन् ।

अध्यक्ष नेपालले संयुक्त भाडा प्रणालीको प्रवन्ध गर्दै ढुवानी व्यवसायमा लगाइएको भ्याटले साना व्यवसायी मर्कामा परेको हुँदा त्यसतर्फ पुर्नविचार गर्न सरकारसंग आग्रह गरे । उनले बुटवलमा सञ्चालनमा आएको ढुवानी ग्रामलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि त्यसमा रहेका कमीकमजोरीलाई हटाएर काम अगाडी बढाउन सुझाए ।

उनले थपे, ढुवानी व्ययवसायीहरुको लगानीमा ढुवानी व्यवसायी समिति रुपन्देहीको सक्रियतामा रुपन्देही परिवहन प्राली मार्फत् बनेको ढुवानीग्रामलाई नमुना ढुवानी ग्रामका रुपमा स्थापित गराउन सबैको दायित्व रहेको छ । बुटवल उपमहानगरपालिका वडा न १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्माले ढुवानी ग्राम सञ्चालनका लागि नगरपालिका सधै गम्भिर बनेको बताउँदै त्यसलाई पूरा गर्न आवश्यक रकमको व्यवस्था गरी छिट्टै काम सम्पन्न गर्न जोड दिए ।

समितिका अध्यक्ष जितबहादुर भाटले ढुवानी व्यवसायीसँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न र व्यवसायलाई उपभोक्तामुखि बनाउने कुरामा आफुहरु गम्भीर भएर लागेको बताउँदै ढुवानी क्षेत्रका नीतिगत र व्यवहारीक रुपमा रहेका समस्याहरुको समाधान गरी व्यवसायलाई व्यवस्थित गर्न महासंघले नेतृत्व गर्नुपर्ने जिकिर गरे ।