बुटवलमा खुल्यो २४ घण्टे फार्मेसी सेवा

बुटवल । अप्रेशन, आइसियु, भेन्टिलेटर, न्यूरो, ओटीमा चाहिने अत्यावश्यक औषधि नपाएर हैरानी र विरामीले ज्यान गुमाउनुपर्ने जोखिम अब बुटवलमा नहुने भएको छ । विगत लामो समयदेखि बुटवलको हस्पिटल लाइनमा विभिन्न प्रकार औषधिहरु सहुलियत मुल्यमा बिक्रिवितरण गर्दै आएको सैनामैना हेल्थ सेन्टरले सोमबारबाट २४ घण्टे इमर्जेन्सी फार्मेसी सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्राली, तिलोत्तमा हस्पिटल प्राली लगायत बुटवलमा रहेका ठूला नीजि हस्पिटलमा आउने विरामीहरुका लागि सहज होस् भन्ने उद्देश्यले १० जना दक्ष फर्मासिससहितको नयाँ ३६५ दिनै खुल्ला राखिने गरी इमर्जेन्सी नयाँ फार्मेसी शाखा विस्तार गरेको सैनामैना हेल्थ सेन्टरका अध्यक्ष तथा सञ्चालक लक्ष्मी न्यौपाने बताइन् । उनले भन्छिन्, हामीले अत्यावश्यक औषधिलाई भुड्की चोक नजिक आकासे पुल अगाडि सञ्चालनमा ल्याइएको फार्मेसीबाट सहुलियत मुल्यमा उपलब्ध गराउने छौं ।

यस्तो फार्मेसी लुम्बिनी प्रदेशकै पहिलो मानिएको छ । विरामीहरुलाई प्रभावकारी सेवा दिने र थप सहजताका लागि हामीले निकट भविष्यमा प्रदेशका अन्य ठूला अस्पताल नजिक शाखा विस्तार गरेर सेवा दिने सोँचमा रहेको फार्मेली इन्चार्ज ओमबहादुर घिमिरेले बताए ।