पाल्पाकी एक महिलाबाट चार छोरीको जन्म

बुटवल, कार्तिक १० गते । पाल्पाको माथागढी गाउंपालिका ववडा नम्बर १ निवासी २४ वर्षीया सीता सार्कीले मंगलबार चार छोरीलाई जन्म दिएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीताले चम्ल्या अर्थात चार छोरीको जन्म दिएकी हुन् ।
कात्तिक ६ गते अस्पताल भर्ना हुनुभएकी सार्कीको मंगलबार दिउंसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।
अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी छन् ।
सामान्यतः दुई–दुई किलो पांच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर सीता सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुंदै पनि तौल कम भएकाले बाहिरी इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ ।