राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले नयाँ कार्यकारी पाउँदै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले यसै महिना नयाँ नेतृत्व पाउँदैछ । हालका कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल सकिन दुई सातामात्र बाँकी रहँदा नयाँ कार्यकारीको होड शुरु भएको छ ।

नयाँ कार्यकारी चयनका लागि समितिसमेत बनेको छ । गृह मन्त्रालय अन्तर्गत पर्ने एनडीआरआरएमएको कार्यकारीका लागि गृहकै सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको हो । दुई विज्ञहरुमा पूर्व सचिव दीपक सुवेदी र एसोसिएट प्रोफेसर डा रेश्मी श्रेष्ठ रहेकी छिन् ।

यही समितिले आवेदन आह्वान गर्दैछ । ती आवेदकबाट समितिले सर्ट लिष्टमा छनोट गरी प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाउने छ । त्यसकै आधारमा समितिले तीन जनाको नाम सिफारिस गर्नेछ ।

एनडीआरआरएमएका प्रवक्ता डा। डिजन भट्टराईले यसको प्रक्रिया सबै मन्त्रालयले गर्ने भएकाले आफूहरुलाई नियुक्तिबारे जानकारी नहुने बताए । कार्यालयमा ३८ जनाको दरबन्दी रहेकामा प्रमुख कार्यकारीको मात्र राजनीतिक नियुक्ति हुन्छ भने बाँकी सबै कर्मचारीहरु हुन् ।

भट्टराईका अनुसार प्राविधिकतर्फ जनशक्ति कमी भए पनि प्रशासनतिर भने काजमा बढी कर्मचारीहरु आएका छन् । स्थानीय तहले नै विपद् व्यवस्थापनको काम गर्ने भएकाले एनडीआरआरएमले समन्वयमात्र गरे पुग्छ । आर्थिक र प्राविधिक अभावलाई सुल्झाउने काम यो कार्यालयले गर्दै आएको छ ।