आँटिला सीडीओ अर्यालः सत्य ओकल्दा स्पष्टीकरणको घेरामा परे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुधबार मन्त्रालयमै झिकाएर स्पष्टीकरण सोधेका छन् । गत कात्तिक ३० गते उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ साधारण सभाका क्रममा दिएको विवादित अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।

गृहमन्त्रीज्यूले मौखिक स्पष्टीकरण लिनु भएको छ । उहाँलाई सचेत गराएर पठाइएको छ, मन्त्री लेखकको सचिवालयका एक सदस्यले भने, अहिलेलाई मौखिक स्पष्टीकरण मात्रै लिइएको छ । थप कारबाही गर्ने निर्णय भएको छैन ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा २०८० मंसिर १२ गते सुत्केरीको मृत्यु भयो । सुत्केरी भएर तीन किलोको छोरा जन्मियो भन्दै अस्पताल प्रशासनले परिवारलाई बधाई पनि दियो ।

तर त्यही अस्पतालले गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएको खबर केही बेरमै दियो । त्यसपछि तनाव हुँदा आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरे । अस्पतालमा पनि तोडफोड भयो ।

स्वस्थ छोरा जन्मियो भनेर बधाई दिएको अस्पतालले आमाको मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउँदा उक्त घटना हुन पुगेको रुपन्देही प्रशासनको निष्कर्ष थियो । एक लाख मान्छेमा एकजनालाई लाग्ने भनिएको पाठेघर संकुचनको समस्या हुँदा ‘ब्लड सर्कु्लेशन’ रोकिएर हर्ट एट्याकका कारण उनको मृत्यु भएको पोस्टमार्टम प्रतिवेदनले देखायो ।

के थियो अर्यालको विवादित अभिव्यक्ति ?
त्यसबेला रुपन्देहीको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए । उक्त प्रकरणमा डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सघंले देशब्यापी आन्दोलनको धम्की दियो । अर्याललाई सीडीओको जिम्मेवारीबाट हटाउन भन्दै त्यसबेला नेपाल चिकित्सक संघले गृहमन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।

त्यही प्रकरणलाई लिएर हाल पर्साको प्रमुख जिल्ला अधिकारी रहेका अर्यालले गत कात्तिक ३० गते वीरगञ्जको एउटा कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिए । उक्त प्रकरणबारे उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औँ साधारण सभामा धारप्रवाह भाषण दिएका अर्यालले रुपन्देहीको घटनाबारे पर्सा आएपछि बोल्दा अब समस्या नहुने बताए ।

अर्यालका अनुसार आम्दा अस्पतालले सुत्केरी मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको थियो । ‘बच्चा जन्मिएपछि बधाई दिएको अस्पतालले सुत्केरीको मृत्युपछि शव मर्चरी भ्यानमा राखिदियो । आमाको मृत्यु भइसक्यो लिएर जाऊ भनेर ठाडठाडै भनिदियो । अस्पताले ठाडो शैलीमा त्यसो भन्दा आफन्त कस्तो अवस्थामा पुगे होलान् ? उनले भने, ‘विरामीको मुखमा हेरेर कुरा गर्नुछ छैन । तिम्रो मान्छे मर्‍यो भनिदिँदाखेरी हुँदैन तोडफोड ? म भए त आगो लगाइदिन्थेँ, धन्न तोडफोड मात्रै भएछ ।

उनले ती सुत्केरीका आफन्तले अस्पताल तोडफोड मात्रै गरेको तर आफू भए आगो नै लगाइदिने भनेर दिएको यही अभिव्यक्तिले गृहमन्त्रीसमक्ष स्पष्टीकरण दिनु परेको हो । म आज पहिलो चोटी यो विषय राख्दैछु अन्त मैले कुरा राखेको छैन । रुपन्देहीमा हु्न्जेल यसबारे बोल्न मिलेन, त्यही भएर आज म बोल्दैछु । ती मान्छेबारे कल्पना गर्नुस् त कस्तो भयो होला ? उनले भने । ‘त्यसबेला तोडफोड भयो, डाक्टरमाथि अलिअलि हातपात भएकै हो । त्यसपछि चिकित्सक संघले अस्पताल तोडफोड र हातपात गर्नेलाई ५ वर्ष थुन् भनेर दबाब दिए । तर मैले तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई मैले मान्छे थुन्दिनँ भनेँ ।

उनले उक्त प्रकरणमा अस्पतालकै गल्ती भएकाले माफीसमेत नमागेको बताए । ‘सरी, बचाउन सकिनँ भनेर माफ माग्दा उस (अस्पताल) को लाइसेन्स सकिन्छ ? शव भ्यानमा हालिदिएर तिम्रो आफन्तको लाश लिएर जाऊ भनेर ठाडै भन्दा कसको रगत उम्लिँदैन, उनले थपे, चिकित्सक संघका अध्यक्ष अनिल कार्कीले डाक्टर कुट्नेलाई नथुने देशव्यापी आन्दोलन हुन्छ भनेर फोन गरे । मैले कुनै हालतमा मान्छे थुन्दिनँ जस्तोसुकै दबाब सहन सक्छु भनेँ ।

उनले उक्त सम्बोधनका क्रममा गड्यौँला जस्तो सात ठाउँ बेरिएका अक्षर लेख्ने डाक्टरले आक्रमण भयो भनेर गुनासो गर्न नमिल्ने बताए । ‘कम्तीमा प्रेसकिप्सन लेख्दा मान्छेले, बिरामीका आफन्तले बुझ्ने हुनुपर्छ । त्यसबेला त्यही अस्पतालले नसक्ने हु्ँदा मान्छे बचाउन अन्त लानु भनेर किन नभनेको ? अर्यालले भने, ‘उक्त प्रकरण मिलाएर सुत्केरीको शव बुझ्ने काम भएपछि रुपन्देहीका सबै प्रमुख र मेडिकल सुपरीटेन्डेन्ट राखेर आधारभूत कुरा पूरा होस् भन्यौँ। बिरामी र आफन्तले बुझ्नेगरी प्रेसकिप्सन लेख्नुस् भन्यौँ । बिरामीसँग आएको कुरुवालाई सबै कुरा बताउनुस् भनेका थियौँ।