जन्मदिनः रक्तदानको बिगुल फुक्दै “हापु”

बुटवल । अस्पतालमा भर्ना भएका बिरामी र दुर्घटनाबाट घाइते भएकाहरुलाई समयमा रगत पुर्याउन सकिएन भने ज्यान जोखिममा पर्ने गर्दछ । जसको परिपूर्ति गर्न रक्तसञ्चार केन्द्रलाई मुस्किल परिरहेको हुन्छ । सधै रगत उपलब्ध नहुन पनि सक्छ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो समूहको रगत लिएर उपचारलाई सहज बनाउँछन् त कुनै व्यक्ति रगत नपाएर भौँतारीरहेका हुन्छन् ।

कतिपय स्थानमा रक्तदान गर्नु हुँदैन भन्ने बुझाईले रक्तदान नहुँदा रगतको अभाव देखिएको उदाहरण धेरै छन् । पछिल्लोसमय विभिन्न संघसंस्थाहरुले रक्तदानलाई आफ्नो बार्षिकी कार्यक्रम अन्र्तगत र समय अनुसार रक्तदान गर्ने सचेतना जस्तै कार्यक्रमले पहिलेभन्दा अहिले धेरै फरकपना आएको देखिन्छ । यस्तै अभियानमा जोडिदैँ आएका युवा हुन् तिलोत्तमा नगरबासी अर्जुन केसी हापु । विहीबार (आज) उनले आफ्नो जन्मदिनको अवसर पारेर गाउँमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी जन्मदिनलाई रक्तदान गरेर ग्रामिणस्तरका बासिन्दाहरुलाई रक्तदानको “बिगुल” फुक्ने प्रयास सम्पन्न गरेका छन् ।

जन्मदिनलाई निकै ‘तामझाम गरी फजुल खर्च गरेर होटल र पार्कमा मनाउने प्रतिष्पर्धालाई’ चिर्दै सामाजिक र मानवीय सेवाभावलाई टेवा पुग्ने गरी मनाउनुपर्ने भन्दै आफ्नो जन्मोत्सवलाई रगत अभावमा कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले चेतनामुलक रक्तदान कार्यक्रम गरेको हापु बताउँछन् ।

मेरो यो छैठौं रक्तदान हो । म हरेक बर्ष जन्मदिनलाई नौलो तरिकाले मनाउँदै आएको छु । विगतमा मैले विद्यालयमा पुस्तक र खेलकुदका सामग्री वितरण, कहिले अनाथ आश्रमा त कहिले बृद्धाआश्रममा मीठो भोजन खुवाएर मनाईसकेको छु, उनले भने । गाउँमा सञ्जिवनी युवा क्लब स्थापना गरेर गाउँका युवाहरुलाई कुलतबाट जोगाउन खेलकुद र सामाजिक काममा लाग्न प्रेरित गर्दै आएका हापुले यसपाली रक्तदान गर्नुको फाइदा र बेफाइदाबारे स्पष्ट पार्नलाई स्थानीय सञ्जिवनी खेल मैदानमा रक्तदानको बृहत कार्यक्रम आयोजना गरी यो समाचार तयार गर्दासम्म ३५ यूनिट रगत संकलन भएको छ, भने रक्तदाताहरुले दान गर्ने क्रमजारी छ ।

पछिल्लोसमय जन्मदिनको अवसर पारेर रक्तदान गर्ने युवाहरुको संख्या बढेपनि बृहतरुपमा गर्ने कमै छन् । रक्तदानको चेतना सबैमा पुग्न जरुरी छ । सामाजिक एवं खेलकुदकर्मीसमेत रहेका हापु भन्छन्, “रगतदान गरेरै जीवन बचाउन सकिने भएकाले रक्तदान गर्नु आफ्नै स्वास्थ्य पनि स्वस्थ” रहने बताए । संसारमै रगत उत्पादन गर्ने उद्योग छैन् । त्यो सम्भव पनि छैन् । मानिसले दान गरेर नै रगत जम्मा हुने हो । उनले थपे– नयाँ रक्तदाताको खोजीलाई निरन्रता राख्नुपर्छ । रक्तदान सम्बन्धी भएका भ्रमहरु चिर्न जरुरी छ ।