उपनिर्वाचनः कीर्तिपुरमा चार उम्मेदवारको भिडन्त, स्वतन्त्रको चुनौती


काठमाडौं । मङ्सिर १६ गते हुने उपनिर्वाचनले कीर्तिपुर नगरपालिकाको राजनीतिक माहोल गर्माएको छ । संघीय राजधानी नजिककैको नगरपालिका भएकाले कीर्तिपुरलाई दलहरुले पनि प्रतिष्ठाको विषय बनाएका छन् ।

कीर्तिपुरको मेयरका लागि दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले माओवादी केन्द्रका शिवशरण महर्जनलाई सघाएपछि अब १९ जना मैदानमा छन् ।
१९ उम्मेदवारमध्ये मुख्य चर्चा भने यहाँ चार पाँच उम्मेदवारको मात्रै छ । जसमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव महर्जनले चुनावी प्रचारलाई आक्रमक बनाएका छन् ।

देशभर स्वतन्त्रहरुको चर्चा भइरहेका बेला केटाकेटी चुनाव चिह्न लिएर राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई स्थानीय स्वतन्त्र व्यक्ति र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पनि साथ दिएका कारण उनको पनि मदातामाझ चर्चा छ ।
नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनको नाम पनि मतदाताबीच चर्चामा छ । यसबाहेक अन्य स्वतन्त्र उम्मेदवार र केही दलका उम्मेदवारको प्रचार र चर्चा सुनिएको छैन् । ऐतिहासिक,पुरातात्विक र सांस्कृतिक महत्त्वको कीर्तिपुर नगरपालिका देशको शैक्षिक केन्द्र पनि हो । यहाँका उम्मेदवारहरु शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य विकासका पूर्वाधारलाई चुनावी एजेन्डा बनाएर प्रचारमा होमिएका छन् ।
दलका नेताहरु पुरानै एजेन्डासहित मतदातामाझ जाँदा स्वतन्त्र भने रोजगारीका योजनासहित मैदानमा देखिएका छन् । केही उम्मेदवारहरूले जग्गा विवाद र शुद्ध खानेपानीको नारा पनि बोकेका छन् ।






















