उपनिर्वाचनः कीर्तिपुरमा कांग्रेसलाई बर्चस्वको पीर, एमालेलाई लालकिल्लाको चिन्ता, प्रचण्ड, बालेन, रविको परीक्षा

काठमाडौं । संघीय राजधानीस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबारे जबर्जस्त केही भाष्य बनेका छन् । जस्तै– पहिलो भाष्य– देशभरिका युवा विस्तारै बालेन्द्रका फ्यान बन्न थालेका छन् । यो भाष्यमा केही सत्यता पनि देखिन्छ ।

दोस्रो भाष्य – आगामी ०८४ को चुनावमा बालेन्द्रले नयाँ पार्टी खोले भने त्यो ठूलो दल बन्न सक्छ । तर, यो भाष्यको परीक्षण हुन बाँकी छ । बालेन्द्रले पार्टी खोल्ने–नखोल्ने अनिश्चित छ ।

तेस्रो भाष्य– काठमाडौंमा बालेन्द्रले जुन स्वतन्त्र उम्मेवारलाई साथ दिन्छन्, उसैले चुनाव जित्न सक्छ । यो भाष्यको पनि परीक्षा हुन बाँकी नै छ । मंसिर १६ को उपचुनावमा बालेन्द्र कतै खुलेका छैनन् ।

यतिसम्म कि बालेन्द्रकै नेतृत्वमा रहेको महानगरभित्र काठमाडौं –१६ को वडाध्यक्षका लागि हुन लागेको उपचुनावमा पनि बालेन्द्र कतै खुलेका छैनन् । जबकि काठमाडौं–१६ मा ८ जना स्वतन्त्र उम्मेदवार छन् ।

काठमाडौं जिल्लामा पर्ने कीर्तिपुर नगरपालिकाका ११ जना स्वतन्त्र उम्मेद्वारमध्ये कसैले पनि आफ्नो पक्षमा बालेन्द्रको वाक्य फुटाउन सकिरहेका छैनन् । बरु धरानबाट मेयर हर्क साम्पाङ स्वतन्त्रलाई भोट माग्दै कीर्तिपुर आइपुगेका छन् ।

काठमाडौं १६ कै कुरा गर्ने हो भने १६ जना उम्मेद्वारमध्ये ८ जना त स्वतन्त्र नै छन् । बालेन्द्रका समर्थकहरुले ८ जना स्वतन्त्रमध्ये कसलाई भोट हाल्लान् ? कि रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठलाई पो सघाउँछन् कि ? मौन समय शुरु हुन लाग्दासम्म बालेन्द्र कतै खुलेका छैनन् । मौन अवधि लाग्नुअघिसम्म बालेन्द्र शाह पूरै मौन छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ– कीर्तिपुरको चुनावले कसरी बालेन्द्रको परीक्षा लेला ? काठमाडौंमा मेयरसँग कीर्तिपुरको चुनावको के नै सम्बन्ध छ र ? त्यसो होइन । काठमाडौं उपत्यकामा ०७९ को चुनावमा स्वतन्त्रको प्रभाव व्यापक थियो । चाहे स्थानीय चुनावमा बालेन्द्रले पाएको मत होस् या त्यसपछिको संसदीय चुनावमा रास्वपाका उम्मेदवारहरुले पाएको मत हो ।

महानगरसँग नछोएको काठमाडौं १० मा समेत रास्वपा ८ हजार मतका साथ तेस्रो शक्ति बनेको थियो । यसअर्थमा कीर्तिपुरको उपचुनावमा कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरुलाई स्वतन्त्रले कति चुनौती दिनसक्छ भन्ने कुराले राष्ट्रिय राजनीतिमा निकै ठूलो अर्थ राख्छ ।

कीर्तिपुरको मेयरमा पुरानै दलले जिते र स्वतन्त्र उम्मेदवारको मत नगन्य आयो भने त्यसले बालेन्द्र शाहका नाममा बनेको भाष्यलाई चुनौती दिने आँकलन गरिएको छ ।

रास्वपाको परीक्षा
काठमाडौं १६ को वडाध्यक्षमा उम्मेदवार उठाएको रास्वपाले कीर्तिपुरको मेयरमा भने उम्मेदवारी नै दिएन । अघिल्लो स्थानीय तहमा पार्टी नै नबनेका कारण रास्वपाको जनमत परीक्षण हुन पाएको थिएन । यसपटक उसले कीर्तिपुरमा चुनाव लडेको भए रास्वपाको शक्ति परीक्षण गर्न सहज हुने थियो ।

गत संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेसले १४ हजार ४६३ मत पाउँदा एमालेले ११ हजार ७९१ मत पाएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई समेत उछिन्दै तेस्रो बनेको थियो । रास्वपाले यस क्षेत्रबाट ८ हजार ७३९ मत पाएको थियो ।

रास्वपापछि राप्रपा थियो, जसले ६ हजार ९५९ मत पाएको थियो । त्यस्तै, माओवादीले ५ हजार २६५ मत पाएको थियो । नेपाल मजदुर किसान पार्टीको पनि काठमाडौं क्षेत्र नम्बर १० बाट १८ सय मत आएको थियो । प्रदेशतर्फ हेर्ने हो भने कीर्तिपुर नगरपालिका काठमाडौं क्षेत्र नम्बर १० (क) मा पर्छ । यो क्षेत्रमा कीर्तिपुर र दक्षिणकाली दुईवटा नगरपालिका पर्छन् ।

यो प्रदेशको सिटमा कांग्रेसका पुकार महर्जनले १० हजार मत ल्याउँदा राप्रपा ७ हजार ४ सय मतका साथ दोस्रो भएको थियो भने एमाले ७ हजार ३ सय मतका साथ तेस्रो र माओवादी ३६ सय मतका साथ चौथो बनेको थियो । रास्वपाले प्रदेश चुनावमा भाग नलिएका कारण काठमाडौं १० (क) मा उसको मत कति छ भनेर अनुमान लगाउने ठाउँ छैन ।

तर, प्रतिनिधिसभामा काठमाडौं १० बाट रास्वपाले ८ हजार मत पाएको आधारमा विश्लेषण गर्दा कीर्तिपुर नगरपालिकामा उसँग कम्तिमा पनि ३÷४ हजार मत रहेको अनुमान लगाउन सकिन्छ । यो उपचुनावमा कीर्तिपुरबाट रास्वपाले उम्मेदवार नउठाएको हुनाले उसको यो लुप्त मत कहाँ झर्छ, त्यसले जीतमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

माओवादी उम्मेदवार डा. शिवशरण महर्जन रास्वपाको मत माओवादीले पाउने दावी गर्छन् । तर, रास्वपाका नेताहरु भने माओवादीको दाबीमा सत्यता नभएको बताउँछन् । पछिल्लो राष्ट्रिय राजनीति र रवि लामिछानेको गिरफ्तारी प्रकरणलाई हेर्दा कांग्रेस र एमालेका उम्मदेवारले रास्वपाको मत पाउने सम्भावना न्यून छ । यो स्थितिमा कीर्तिपुरमा रास्वपा समर्थकको मत जता जान्छ, उसैको पल्ला भारी हुने देखिन्छ ।

रास्वपाका सम्बन्धमा प्रश्न उठ्न सक्छ– कीर्तिपुरमा उम्मेदवार नै नउठाएको रास्वपाको परीक्षा कसरी ? यसमा केही तर्कहरु अघि सार्न सकिन्छ । एक त रास्वपाले कीर्तिपुरमा किन उम्मेदवारी दिएन, यो आफैंमा यक्ष प्रश्न हो । दोस्रो प्रश्न– रास्वपासँग रहेको २, ४ हजार मत कसको बाकसमा खस्ला ? यसबारे रास्वपाले आफ्ना कार्यकर्ता र सुभेच्छुकलाई के निर्देशन दिन्छ ? र, तेस्रो प्रश्न– कीर्तिपुरको चुनावमा स्वतन्त्र उम्मेदवारको साटो कांग्रेस, एमाले र माओवादीकै उम्मेदवारले जिते भने रास्वपाको मिसन ८४ मा मनोवैज्ञानिक असर पर्ला कि नपर्ला ? यिनै प्रश्नहरुका कारण कीर्तिपुरको चुनाव रास्वपाका लागि पनि परीक्षा नै हो भन्न सकिन्छ ।

स्वतन्त्रका नाममा डमी
कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । यीमध्ये कुन असली स्वतन्त्र हो र को हैन भनेर छुट्याउन मतदातालाई हम्मे परिरहेको छ ।

केटाकेटी चुनावचिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई हर्क सम्पाङले सघाएका छन् । उनी जहाँसुकै स्वतन्त्रको माहोल रहेको र कीर्तिपुरको चुनाव आफूले जित्ने दाबी गर्छन् ।

कीर्तिपुरका स्थानीयले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवार धर्मरत्न मानन्धर माओवादीका ‘डमी’ हुन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार नवरथकुमार बानियालाई कतिपयले ‘एमालेका बागी’ भन्ने गरेका छन् ।

चोभार निवासी अर्का स्वतन्त्र उम्मेदवार प्रेमबहादुर महर्जनले पनि एमालेको भोट काट्ने र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले कांग्रेसको भोट काट्ने स्थानीयको विश्लेषण छ । स्वतन्त्र उम्मेदवार धेरै भएता पनि हर्क साम्पाङको साथ पाएका राजमान महर्जन प्रतिस्पर्धामा आउन सक्ने दाबी कीर्तिपुरबासीले गरेका छन् ।