पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको साधारण सभा

यातायात व्यवसायी विस्थापित हुदै गएको गुनासो

  बुटवल, मंसिर १५ गते । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न लागि ओभारलोड लर भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले बताएका छन् ।
भारतीय गाडिहरुले निर्वाद रुपमा ओभारलोड बोक्दा नेपाली ट्रक तथा यातायात व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुको गुनासो छ ।पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने यातायात व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएको बताए ।

यातायात व्यवसायीमुखि नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदापनि सरकारले न्याय दिन नसकेको बताए ।
उनले ओभरलोड बोक्नु कानुन विपरित भएको बताउंदै ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामन झारेर कारवाही गर्नुपर्ने र त्यसका लागि महासंघ प्रतिवद्व भएर लागि परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । दुर्घटनाको एउटा कारण ओभरलोड भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकहरुलाई तालिम दिने र ट्राफिक प्रहरीसंग समन्वय, सहकार्य गर्ने बताए ।यातायात व्यवसायीहरुको लगानी असुरक्षित भएको उल्लेख गर्दै व्यवसायीका हितका लागि भ्याटमा जानु पर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्वता जनाए । बुटवल उपमहानगरपालिका व्यवसायीको पक्षमा रहेको बताउंदै कोही पनि व्यवसायी आफ्नो पेशाबाट विस्थापित नहुने गरी कार्यक्रम ल्याउन प्रमुख पाण्डेयले आग्रह गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानिया पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, माओवादीका निमानन्द गैरे, समाजवादी पार्टी नयां शक्तिका केन्द्रिय सदस्य पंकज राई, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट, गण्डकी यातायात व्यवसायी समिति पोखराका अध्यक्ष सुरेन्द्र त्रिपाठी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेलगायतले बोल्दै सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन गर्न नसकेको बताए ।

समितिका अध्यक्ष टिकाराम गौतमको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कमल घिमिरेको स्वागत र प्रकाश गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
साधारण सभाको अवसरमा ससमितिका २४ वर्ष काम गरेर विदा लिएका कार्यलय प्रमुख बाबुराम अधिकारी, उत्कृष्ट कार्य गर्ने कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो ।