बटौली खानेपानीको प्रथम साधारणसभा-अधिवेशन, बन्दसत्र चल्दै

बुटवल । बटौली खानेपानी तथा वातावरण सरसफार्इ उपभोक्ता संस्थाको प्रथम वार्षिक साधारणसभा एवं प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार बुटवल उपमहानगरपालिका वडा न १ २ अन्तर्गत साधारणसभा र अधिवेशन भएको हो ।

पुरानो बटौलीको रुपमा चिनिने पारी बुटवलमा खानेपानीको चरम समस्या र स्थानीयबासीहरुलाई खानेपानीको सहज बनाउन ०७३, ७४ मा संसद विकास कोषबाट वजेट विनियोजन भई खानेपानीको समस्यालाई समाधान गर्न वोरिङ स्थापना गरेर बटौली खानेपानी तथा वातावरण सरसफाई उपभोक्ता संस्था बुटवल १,२ स्थापना गरिएको बताईएको छ ।

संस्थाका अध्यक्ष मिलेन्द्र श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा स्वागत मन्तव्य राख्दै बटौली खानेपानी तथा वातावरण सरसफार्इ उपभोक्ता संस्थाका अध्यक्ष श्रेष्ठले पारी बुटवलको साविक वडा न ४ र ८ हाल वडा न १ र २ मा स्थानीयबासीहरुले भोग्नुपरेको खानेपानी समस्यालाई सहज बनाउँदै लगिएको र आगामी दिनमा थप विस्तार गर्ने गरी योजना अगाडि बढाइएको बताए । उनले भने, हामीले आगामी दिनमा अभाव भएका ठाउँमा पानी पुर्याउनलाई ओभरहेड टंकीको निर्माण, पाइप लाईन विस्तार र निःशुल्क पानी वितरण जस्ता महत्वपूर्ण कुरालाई पूरा गर्न अगाडि बढेका छौं ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवलको खानेपानी समस्यालाई दीर्घकालिन रुपमा समस्या समाधान गर्न प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै तत्काललाई खानेपानीको समस्या भोगिरहेका नागरिकहरुलाई सहजरुपमा पानी पुर्याउनका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याए । उपभोक्ता साबित्री नेपालले स्थानीयखोला र नदिको दूषित धमिलो पानी पिउनुपर्ने बाध्यतालाई निरुत्साहित गर्दै खानेपानीको योजना ल्याएर खानेपानीको सहजता ल्याउने अध्यक्ष लगायतलाई धन्यवाद दिदै आगामी दिनमा उपभोक्ताहरुलाई निःशुल्क पानी वितरण गर्नुपर्ने आग्रह गरिन् ।

तीन सय घरधुरी रहेका बटौली खानेपानीको बार्षिक लेखा परीक्षण प्रतिवेदन सुनाइएको थियो । पहिलो अधिवेशनको बन्दसत्र चल्दै गरेको र नयाँ कार्यसमितिको नामावली विवरण आइतवार (भोली) सार्वजनिक गरिने जनाईएको छ ।