तिलोत्तमा महोत्सवः स्थानीय उत्पादन र पर्यटनमा छैन् नजर

बुटवल । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार, समृद्ध आर्थिक विकासका निमित्त व्यापार विस्तार भन्ने नारा ठूलो ब्यानरमा लेखेर मंसिर ६ गतेदेखि रुपन्देहीको मणिग्राममा दोस्रो तिलोत्तमा महोत्सव सञ्चालन भइरहेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक गतिविधिलाई चलायमान गराउने उद्देश्यका दोस्रो महोत्सव सञ्चालन भइरहँदा भने नारामा लेखिएका शब्दको अर्थ लाग्ने गरी व्यवहारमा हेर्दा स्टलमा कहिँकतै देखिदैँनन् । हरेक वर्ष हिउँद लागेपछि नेपालमा मेला महोत्सवको पर्व जस्तै चल्ने गर्दछ । सोही अनुसार तिलोत्तमा व्यापार संघले यो वर्ष पनि महोत्सव आयोजना गरेको छ ।

कुनैबेला मेला महोत्सव भनेपछि दर्शकहरुको संख्या खचाखच हुन्थ्यो । जिल्लाको दुई ठाउँ भन्दा आयोजना हुँदैन थिए । तर पछिल्लो समय गाउँवस्तीमा पनि मेला आयोजना हुने र सांस्कृतिक एवं बाह्य उत्पादनका सामाग्राीहरुको व्यापारमा मात्रै आकर्षित हुने र स्थानीय विशेषताका दृष्टिले पृथक र अस्तित्वयुक्त मेला महोत्सव नहुने भन्दै मानिसहरुको संख्या वर्षेनि घट्दै गएको पाइन्छ । त्यस्तै दृश्य र गुनासो मणिग्राममा सञ्चालित महोत्सवमा आउने अवलोकनकर्ताबाट सुनियो ।

महोत्सव स्थानीय हाटबजार जस्तै भएको अवलोकन गर्न आएकी तिलोत्तमाकै स्थानीयबासी मञ्जु भुसालको भनाई छ । उनले महोत्सवमा तत्काल देखिने उपलब्धिभन्दा पनि यहाँबाट हुने दूरगामी प्रभाव जस्ता नयाँपन केही नभएको भन्दै हाटबजारमा बस्ने व्यापारीहरुकै दबदबा रहेको र सामानको मूल्यमा पनि बजारको जस्तै कुनै फरक नरहेको अनुभव बताइन् ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष एवं महोत्सवका संयोजक नेत्रप्रसाद न्यौपानेले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण गर्न र स्थानीय व्यापारलाई प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले भने, ुपोहोरको भन्दा अहिले फरक के छ भन्ने जिज्ञासामा पहिले मेला नाम थियो अहिले महोत्सव राखिएका छौं, तिलोत्तमामा हालसम्म लाग्ने मेलाहरु भन्दा शनिवार रेकर्ड तोडेको छ । हामीले एकैदिन करिव लाख टिकट बिक्रि गर्न सफल भएका छौं । दर्शक र स्टलवाला व्यवसायीहरुको माग अनुसार दुई दिन थपेका छौं, राम्रो भएको छ ।ु

महोत्सवमा स्टल राखेर विभिन्न सामानहरु बिक्रि गर्नका लागि बसेका व्यापारीहरुले महोत्सवमा मान्छेहरु आउने तर सामान किनमेल नगर्ने गरेको स्टल व्यापारीहरु बताउँछन् । कतिपय व्यापारीहरुले स्टलको पैसासमेत कसरी तिर्ने भन्ने चिन्ता बढेको सुनाए ।

जिल्लामा मेला महोत्सव आयोजना गर्ने विभिन्न संघसंस्थाहरुले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै जोडिएका अन्य धेरै पर्यटकीय क्षेत्रहरुमा महोत्सवमा आउने दर्शकलाई त्यहाँसम्म पुर्याएर पर्यटन क्षेत्रको विकास गर्न हालसम्म ध्यान पुग्न सकेको छैन । अंग्रेजसँगको लडाईमा नेपाली फौजले जितेको बुटवलस्थित जितगढ़ी किल्ला, तिलोत्तमाकै शंकरनगरमा रहेको पर्यटकिय क्षेत्र बनबाटिका, भारतीय सिपाहीसँग विद्रोह भएको ऐतिहासिक ठाउँ सुखौरा खोला र मद्रहानीसम्म पुर्याएर स्थानीय तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन सकेमा मेला महोत्सवको औचित्य बढ्दै जाने र स्थानीय पर्यटन क्षेत्रको विकासमा उल्लेख्य टेवा पुग्ने स्थानीय पर्यटन क्षेत्रका जानकारहरुको भनाइ छ ।