रविलाई भेटेपछि बाबुरामले भनेः राजनीतिक प्रतिशोध साँधिएकै हो

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् । शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए । उनले सभापति लामिछानेलाई अस्वाभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताएका छन् ।

सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए । भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्व प्रधानमन्त्री भट्टराईले जानकारी दिए ।

उनले भने, रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ती मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उनलाई विभिन्न ढङ्गले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । यो प्रति अस्वाभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हो । उनको स्वास्थ्य कस्तो छ भनेर हो ।

उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु । सहकारी सम्बन्धी समस्या छ त्यसको जरो धेरै फैलिएको छ । सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरुकै वरिपरि बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना बचतकर्ताहरु मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ । अहिले यो कुरालाई अल्झाइराख्ने त होइन भन्ने छ । कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्ने कुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदै छ ।