वरीयतामा मुटाबः शेखर कोइरालाले बहिष्कार गरे कोशी प्रदेश सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिष्कार गरेका छन् । शनिबार विराटनगरमा हुन लागेको प्रदेश सम्मेलन छोडेर कोइराला चितवन जाने तय भएको छ।

कोइराला शनिबार चितवनका कांग्रेस नेता उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ ।

महामन्त्री गगनकुमार थापालगायत नेता विराटनगर गइसकेका छन् । सभापति शेरबहादुर देउवा प्रदेश सम्मेलनको मुख्य अतिथि रहेका छन् । देउवापछि मञ्चमा दोस्रो वरीयता खोजिरहेका कोइरालाले आफ्नै गृहनगर तथा प्रदेशमा हुन लागेको सम्मेलन बहिस्कार गरेका हुन् ।

कोइरालाले उक्त सम्मेलनमा देउवापछि आफूलाई दोस्रो वरीयता मागिरहेका थिए । तर मर्यादा क्रममा उनलाई दोस्रो वरीयता नदिइने भएपछि बहिस्कार गरेको बताइएको छ । केन्द्रीय वरीयतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् । कोइराला वरीयतामा २० नम्बरमा छन् ।

१४औँ महाधिवेशनमा देउवालाई कडा टक्कर दिँदै ४० प्रतिशत मत ल्याएका कोइरालाले वरीयतामा पहिलेदेखि नै चित्त दुखाउँदै आएका छन् । त्यसो त डा. शेखर कोइरालाले केन्द्रको निर्देशन विपरीत नगर सभापतिहरुको भेला सम्पन्न गरेका छन् । उनी पक्षीय पालिकाले कोशीका १३७ मध्ये ११३ पालिकाका सभापति सहभागी भएर तीन दिन भव्यपूर्वक नगर सभापतिहरुको भेला गरेको हो ।

यो भेला नगर्न केन्द्रले पत्रसमेत पठाएको थियो । तर यसलाई लत्याएर कार्यक्रम आयोजना गरिएको थियो । विधान विपरीत उनले सम्मेलन आयोजना गरेपछि केन्द्रीय नेताहरु रुष्ट रहेका छन् । त्यतिमात्र होइन उनले सोही भेलामार्फत १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवारी घोषणा गर्नेसमेत तयारी गरेका थिए ।

जबकि महाधिवेशन कहिले हुन्छ भन्नेसमेत यकिन छैन । उनले आफ्नो भेलामा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अपमान गर्नसमेत सहभागीहरुलाई लगाएको आरोप लागेको छ । जबकि उनकै खेमाबाट गगन थापा महामन्त्री भएका थिए भने विश्वप्रकाशलाई उनकै खेमाका महाधिवेशन प्रतिनिधिले मत हालेका थिए ।