पत्रकार महासंघमा दुई प्यानल

काठमाडौँ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन् ।

पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि दुई संस्थाबीच पद बाँडफाँट भएको हो । गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारेको छ । महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन रहेका छन् ।

प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल रहेका छन् । यस्तै सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारी रहेका छन् । गठबन्धनले प्रदेश र जिल्ला तहमा पनि जिम्मेवारी बाँडफाँट गरेको छ ।

कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष प्रेस चौतारीले लिनेछन् भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले पाउने सहमति भएको छ।

गठबन्धनसँग प्रतिस्पर्धा गर्न प्रेस सेन्टर नेपालले माओवादी केन्द्र र अन्य वामपन्थी समूहहरुसँग संयुक्त प्यानल खडा गरेको छ। अध्यक्ष पदका लागि कमल गिरी उम्मेदवार छन् । उनको समर्थनमा प्रेस सेन्टरका विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी छन् ।

मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा ‘जुगल’ छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन् ।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासीरजनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।

प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवम् अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो ।

यसअघि महासंघका अध्यक्ष विपुल पोख्रेलले सदस्यता विवादका कारण राजीनामा दिएका थिए। विवाद समाधान भएपछि महाधिवेशन गर्न लागिएको हो।

महाधिवेशनको नतिजाले महासंघको आगामी नेतृत्वको दिशा निर्धारण गर्नेछ । यस पटकको निर्वाचन कांग्रेस र एमालेनिकट संस्थाहरूबीचको सहकार्य र वामपन्थी समूहहरूको संयुक्त मोर्चाबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

यसपालि निष्कृय पत्रकारहरुलाई हटाउनुपर्ने ‘शुद्धीकरण’ अभियान चलाइएको थियो। तर यिनै दलनिकट संगठनहरुले यसमा लामो किचलो गरे । जेठमै हुनुपर्ने निर्वाचन सर्दै–सर्दै मंसिरमा पुगेको हो । देशभरि दलमा आबद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन् । तर नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन।